नवनिर्वाचित वडाध्यक्षहरूलाई अभिमुखीकरण

सोलुखुम्बु । सोलुखुम्बुका नवनिर्वाचित वडाध्यक्षहरूलाई अभिमुखीकरण गरिएको छ ।
प्रदेश प्रशिक्षण केन्द्र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कलवलगुरी झापाको आयोजनामा विद्यमान संवैधानिक तथा कानुनी प्रावधानका बारेमा जिल्लाभरिका वडा अध्यक्षहरूलाई अभिमुखीकरण गरिएको हो ।
स्थानीय तहको काम कर्तव्य, अधिकार, प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा सचिवको काम कर्तव्य र अधिकार लगायतको विषयमा कार्यक्रम केन्द्रित रहेको आयोजकले जनाएको छ । जसका लागि वडा तथा पालिकाबाट प्रवाह हुने सर्जिमिन मुचुल्का, सिफारिस, सामाजिक सुरक्षा, पञ्जिकरण, विकासका समसामयिक सन्दर्भहरू लगायतका विषयमा अभिमुखीकरण गरिएको प्रदेश प्रशिक्षण केन्द्रका मनोज तिमसिनाले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण केन्द्रका प्रशिक्षक गणेशप्रसाद तिम्सिना, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारी लगायतले गर्नुभएको थियो ।
वडाका वडाध्यक्षहरूको सहभागितामा गरिएको अभिमुखीकरणले जनप्रतिनिधिहरूमा सेवा प्रवाहको बुझाइमा एकरूपता आउने केन्द्रको विश्वास छ ।
तालिम केन्द्रले प्रदेश १ का १३७ वटै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षलाई लक्षित गर्दै सोही प्रकृतिको कार्यक्रम गत जेठमा विराटनगरमा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्