बागलुङ नगरपालिकाका पूर्व उपप्रमुख सहित ५ जनालाई भ्रष्टाचारको मुद्दा
बागलुङ । बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित कर्मचारीको मिलेमतोमा तोके भन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुङ्गा गिटी र बालुवा मार्फत आउनु पर्ने करमा नोक्सानी पुर्याएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले बागलुङ नगरपालिकाका पूर्व उपप्रमुख सुरेन्द्र खड्का, वडा नं. २ का अध्यक्ष जीवन आचार्य सहित ३ कर्मचारीलाई पनि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र राजश्व शाखाका सदस्य सचिव काशीराम शर्मालाई विपक्षी बनाइएको छ ।
ढुङ्गा गिटी तथा बालुवा बिक्री बापत आउनुपर्ने रकम मिलेमतोमा कम बोलकबोल गराएको आरोप उजुरीमा छ । प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य बस्तुको कर सङ्कलन गर्दा मिलेमतोमा राजश्व छली गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त कामले नगरपालिकालाई हानि नोक्सानी पुर्याएको आरोप अख्तियारले लगाएको छ । विशेष उजुरीपछि अख्तियारले गरेको अनुसन्धानमा नगरपालिकालाई १७ लाख ४० हजार ६६ रुपैयाँ नोक्सानी पुर्याएको पुष्टि भएको थियो ।
तत्कालीन उपप्रमुख खड्का यस अघि बसपार्क निर्माणको क्रममा भएको भ्रष्टाचार मुद्दामा पनि तानिएपछि यस अघिनै निलम्बित थिए । आरोपितहरूलाई जनही ३४ लाख ८० हजार १ सय ३२ बिगो भराउन माग गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९को दफा ७ को खण्ड (ख) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ बमोजिम उनीहरुलाई बिगोको आधारमा सोही ऐनको दफा ३ को उपदफा १ को खण्ड च बमोजिम सजाए र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्वको दोब्बर जरिबाना समेत मागदावी गरिएको हो ।
नगरपालिकाले कालीगण्डकी नदीमा हरेक बर्ष ढुङ्गा गिटी बालुवाको ठेक्का मार्फत उत्खनन् अनुमति दिने गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्