तपाईँ सुन्दै हुनुहुन्छः

रञ्जन कोइरालाको मुद्दामा पारिवारिक प्रभावमा परेको जबराको स्वीकारोक्ति

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । 

बयानका क्रममा  जबराले सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दा फैसलामा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको नेपाली कांग्रेसका सचेतक एवं समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । 

रञ्जन कोइरालाको मुद्दामा कमजोरी भएकै कारण महाअभियोग लगाइएको हो भने माफी चाहन्छु भनेर जबराले समितिलाई बयान दिएको नेता विश्वकर्माले बताउनुभयो । 

आफ्नै श्रीमतीको बीभत्स हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष जेल सजाय घटाएर जबराले ८ वर्षमा झार्नुभएको थियो । 

समितिले तयार गरेको ४३ प्रश्न मध्ये आज ५ वटा प्रश्नमा जबराले बयान दिनुभएको हो ।  

समितिको ३४ र नेपाल बार एसोसिएसनले पठाएको २१ वटा प्रश्नमा जबराको बयान लिन बाँकी रहेको समितिले जनाएको छ ।  

नेपाली कांग्रेसका सचेतक विश्वकर्माका अनुसार समितिले बयान लिन तय गरेको कार्यतालिका परिमार्जन गरी छोटो बनाइएको छ ।  समितिले बयानका लागि जबरालाई भदौ २५ गते पुनः बोलाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button