भारतीय सेना अध्यक्ष आज नेपाल आउनुहुँदै

काठमाडौँ । भारतीय सेना अध्यक्ष जनरल मनोज पाण्डे आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ पाँच दिवसीय भ्रमणका लागि आज नेपाल आउँन लाग्नुभएको हो ।
नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।
नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।
विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखद्वारा विभूषित हुनुभयो ।
अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो ।
हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसक्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्