दशैँ अगावै पुनः ह्युम पाइप हाल्न माग

सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पुरा हुँदा समेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निमार्णको काम समेत दिगो हिसाबले हुन सकेको छैन । जसले गर्दा मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितहरूले ठुलो सास्ती खेप्न बाध्य छन् ।
मेलम्ची र इन्द्रावती नदीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रहरूका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो । जसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठुलो समस्या छ । बाढी आएको यतिका समय बितिसक्दा समेत दिगो हिसाबले कुनै पनि काम नहुँदो गुनासो गर्नुहुन्छ मेलम्ची नगर उद्योग वाणिज्य संघका महासचिव तारा बानियाँ ।
गत बर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा अस्थायी रुपमा ह्युम पाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो ।
यसबर्ष पनि दशैँ अगावै पुनः ह्युम पाइप हाल्नुपर्ने बजारबासीको माग छ । अस्थायी संरचनाभन्दा पनि स्थायी रूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताउनुहुन्छ मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल ।
मेलम्ची नगर पालिकाले पनि स्थायी संरचना बनाउन प्रदेश र संघ सरकारको पटक पटक ध्यानाकर्षण गराएको जनाएको छ । तत्कालका लागि ह्युम पाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।
बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्थ व्यक्तिहरूले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन ।
बाढी प्रभावितलाई आश्वासन नभएर राहत चाहिएको सरोकारवाला निकायले बुझ्न आवश्यक छ ।







प्रतिक्रिया राख्नुहोस्