पौने पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा करिब पौने पाँच करोड रुपियाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ ।

पर्यटन पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा नेपाल सरकार पर्यटन विभागबाट पिकेडाँडा हुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि प्राप्त चार करोड ७७ लाख रुपियाँको लागतमा पदमार्ग निर्माण सुरु भएको हो ।
पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले नगर क्षेत्रको पर्यटनको विकासमा सहयोग पुग्ने पदमार्ग निर्माणको कामको गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
गएको असार २९ गते ठेक्का सम्झौता भई एक वर्षमा सम्म सम्पन्न गर्ने गरी प्राप्त बजेटले यस बर्ष पिके डाँडादेखि २० देखि २५ किलोमिटर पदमार्ग तयार गरिने निर्माण कम्पनी जलुकेनी निर्माण सेवा प्रा.लि.का प्रमुख ऋषिराज फुयाँलले जानकारी दिनुभयो ।
पदमार्ग निर्माणका क्रममा तीन किलोमिटर सिँढी, चार किलोमिटर सोलिङ, दुई वटा विश्राम घर, एक सय घनमिटर जाली भर्ने, २५० घनभिटर मेसिनरी वाल र आवश्यकता अनुसार काठे साँघु लगायतका संरचना निर्माण गरिने पर्यटन विभागका इन्जिनियर रोशन खड्काले बताउनुभयो ।
स्थानीय स्तरमै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी पदमार्ग निर्माण गरिने जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्