‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ ।

दाहाल निवास खुमलटारमा आज भएको भेटवार्ता प्रतिनिधिमण्डलले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने जनाएको छ ।
नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उहाँहरूले बताउनुभएको अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
उहाँहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारबारे चासो राख्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा उहाँहरूले देखाउनु भएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
रासस







प्रतिक्रिया राख्नुहोस्