सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : सचिव रायमाझी

चितवन। नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताउनुभयो ।
नेपाली काँग्रेस बाहेकका दलहरू पटक पटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।” दलहरू स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो ।
एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो । उहाँले भन्नुभयो, “वैचारिक र राजनीतिक रूपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ । त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।” लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्