मुद्दा फर्छ्यौट तथा न्याय सम्पादनमा उच्च अदालत विराटनगर अगाडि

विराटनगर । अघिल्लो आर्थिक वर्ष तथा गत आर्थिक वर्षको गरी दुई वर्ष नाघेका मुद्दा शुन्यमा झार्न उच्च अदालत विराटनगर सफल भएको छ । १२ जना न्यायाधीशको दरबन्दी भएपनि ९ जना न्यायाधीशले मात्र अहिले अदालतको कार्यसम्पादन गर्दै आएका छन् ।
उच्च अदालतले विराटनगरमा आज सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा ६० प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ । अदालतका रजिष्ट्रार जीतबहादुर थपलियाले गत आर्थिक वर्षमा ३ हजार २४ मुद्दा फर्छ्यौट गरेको बताउनुभयो । अदालतमा आएका मुद्दा मध्ये गत वर्ष १ हजार ९ सय ७८ मुद्दा फर्छ्यौट गर्न बाकी रहेको उहाँले जानकारी दिनुभयो
अदालतले दर्ता भएका मुद्दालाई वर्गीकरण गरि सरल, सामान्य, विशेष गरि वर्गीकरण गर्दै आएको छ ।
६ महिना सम्मकालाई सरल, एक वर्ष सम्मकालाई सामान्य र एक वर्ष नाघेका १८ महिना भित्रकालाई विशेष समूह भनेर वर्गीकरण गरि काम गर्ने गरिएको छ । यसरी अदालतले १८ महिना नाघ्ने प्रकृतिका मुद्दा हरूलाई व्यवस्थापनका लागि छुट्टै अभियान फाँटको व्यवस्था गरेको अदालतका सूचना अधिकारी ओमकार सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अदालतले डिसीएम (फरक मुद्दा व्यवस्थापन) फाँट बनाएको छ । अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा रहेको अभियान फाँटले १८ महिना नाघ्ने मुद्दालाई व्यवस्थापन गर्दै आइरहेको छ । अभियान फाँटले १८ महिना नाघेका मुद्दा शून्य बनाउने गरि काम गरिरहेको सुवेदीको भनाई छ ।
अभियान सञ्चालन भएपछि कोरोना कालमा पनि यस कार्यलाई निरन्तरता दिइएको अदालतका रजिष्ट्रार थपलियाले बताउनुभयो । उहाँका अनुसार गत वर्षको कोरोना सङ्क्रमितको सङ्ख्या उत्कर्षमा पुगेका समयमा पनि १८ महिना नाघेका मुद्दालाई प्राथमिकतामा राखेर काम गरिएको थियो ।
मुद्दाका पक्षलाई गाडीमा हालेर पनि ल्याइएको छ । अदालतबाट गाडी घर लगेर ल्याइएको उहाँको भनाई छ । रजिष्ट्रार थपलियाका अनुसार कोरोना संक्रमण उच्च भएका समयमा ७ मुद्दाहरूलाई पेशी हालेर फैसला गरियो । उच्च अदालत विराटनगरले अभियानको साख गिर्न दिएको छैन ।
आर्थिक वर्ष २०७८–०७९ मा तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले सबैभन्दा बढी ७३२ वटा मुद्दा फछ्र्यौट गर्नु भएको छ । ३ हजार २४ फछ्र्यौट भएका मुद्दा मध्ये उहाँ एक्लैले २४ प्रतिशत फछ्र्यौट गर्नु भएको थियो । गत चैतमा सर्वोच्चमा सरुवा भएर गएका श्रेष्ठले अन्य न्यायाधीशको तुलनामा सबैभन्दा बढी फछ्र्यौट गरेको उच्च अदालतको विवरणमा उल्लेख छ ।
कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले ३९८, दिनेशप्रसाद यादवले १४५, कृष्णकमल अधिकारीले ५६९, रामबहादुर थापा १०७, राजनप्रसाद भट्टराई ५६१, मुरारीबाबु श्रेष्ठ ६३५, मिलनकुमार राई ६७२, किरणकुमारी गुप्ता ५६२, जगतनारायण प्रधानले ४६७ मुद्दा फछ्र्यौट गर्नु भएको छ । सरुवा भएर गएका प्रेमराज ढकाल ३६६, यमुना भट्टराई ३८८, तेजनारायणसिंह गनगाईले ४४२ मुद्दा फछ्र्यौट गरेको रजिष्टार थपलियाले बताउनुभयो । उनका अनुसार न्यायाधीश यादव र थापा हालै सरुवा भएर आएका कारण फर्छ्यौटको सङ्ख्या कम भएको हो ।
सो अवसरमा बोल्नु हुँदै कामु मुख्य न्यायाधीश सत्यमोहन जोशीले अदालतले छिटो छरितो रुपमा न्याय सम्पादन गरेकै कारण नेपालभरिमै उत्कृष्ट बन्न अदालत सफल भएको बताउनुभयो । सेवाप्रभा तथा अदालतबाट हुनसक्ने कमीकमजोरी भए त्यसलाई औँल्याउन सञ्चारकर्मीलाई आग्रह गर्दै त्यसबाट आफूहरूलाई करेक्सन हुन मद्दत पुग्ने उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्