मधेश प्रदेशमा मातृ तथा शिशु मृत्युदर उच्च

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा मातृ तथा शिशु मृत्युदर कर्णाली छाडेर देशमा नै उच्च रहेको भन्दै यसमा सुधार ल्याउनु पर्ने आवश्यकतामा जोड दिइएको छ ।
मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, युएन एफ पिए तथा लाइफ नेपालको संयुक्त आयोजनामा “सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य रोडम्याप सम्बन्धी पैरवी” कार्यक्रममा सहभागीहरूले मधेश प्रदेश भौगोलिक रुपमा सुगम भएपनि यस ठाउँमा मातृ तथा शिशु मृत्यु दर उच्च हुनु चिन्ताको विषय भएको बताउनु भयो ।
मधेश प्रदेशका जिल्लाहरूमा मातृ तथा शिशु मृत्यु दर उच्च हुनुमा पहिलो पटक गर्भवती परीक्षणका लागि ९२ प्रतिशत जाँचमा आएपनि चार पटकमा पुग्दा गर्भ परीक्षण गराउन आउनेको सङ्ख्या २५ प्रतिशतले मात्र गराउने गरेको, प्रसूति सेवाका लागि अहिले पनि ५४ प्रतिशत स्वास्थ्य संस्थामा पुग्ने गरेको, प्रसूति सेवा पछि भिटामिन ए खानेको सङ्ख्या ६४ प्रतिशत र प्रसूति सेवापछि आमा तथा शिशुको स्वास्थ्य परीक्षण गर्नका लागि आउनेको सङ्ख्या ५.५ प्रतिशत मात्र भएकाले मातृ शिशु मृत्यु दर उच्च रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
अहिले यी सेवाहरू सुधार नल्याएको खण्डमा सन् २०३० सम्म नेपाल सरकारले लिएको सहस्राब्दी विकासको लक्ष्य हासिल गर्नमा कठिनाइ हुने भएकाले यी सेवाहरूमा सुधारका लागि स्थानीय सरकारको महत्त्वपूर्ण योगदान हुने भएकाले स्वास्थ्य क्षेत्रको विकासका लागि कूल बजेटको १० प्रतिशत लगानी गर्नका लागि मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले स्थानीय सरकारसँग आग्रह गर्नु भयो ।
मधेश प्रदेशमा प्रत्येक एक लाख प्रसूतिमा २ सय ३९ महिलाको मृत्यु हुने गरेको छ भने १ हजार शिशुमा २१ जनाको मृत्यु भइरहेको छ । जबकि १ लाख प्रसूतिमा सन् २०३० सम्ममा २१ मा झार्नु पर्ने र शिशु मृत्यु दर पनि १ हजारमा १२ मा ल्याउनु पर्ने भएकाले यसका लागि पालिकाहरूको वडा वडाबाट सहयोग तथा साथ हुन आवश्यक भएको निर्देशक झाले जानकारी दिनु भयो ।
मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउनका लागि नेपाल सरकारले गर्भवती परीक्षण देखि प्रसूति सेवासम्म निःशुल्क भएको र सेवा लिन आउनेलाई प्रोत्साहन रकम प्रदान गरेपनि अहिले पनि गर्भवतीहरू स्वास्थ्य संस्थामा नआउनु चिन्ताको विषय भएको बताउँदै त्यसका लागि प्रदेश सरकारले प्रत्येक वडामा १ जना स्टाफ नर्स तथा एच एको दरबन्दी सृजना गरेर भर्ना गर्न लागेको स्वास्थ्य निर्देशकले जानकारी दिनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल सरकार तथा प्रदेश सरकारले लिएको मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यलाई पुरा गर्नका लागि वडा नंं १७ देखि २५ सम्म बर्थिङ्ग सेन्टर स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले अहिले जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा भएका प्रसूति सेवालाई नगर क्षेत्रका कुनै स्वास्थ्य संस्थासम्म लानका लागि डिजेलमा लाग्ने शुल्क बाहेक निःशुल्क एम्बुलेन्स सेवा ल्याउन लागेको बताउनु भयो ।
कार्यक्रममा वडा नंं १० का वडाध्यक्ष मिथिलेश कर्ण, यु एन एफ पिएका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्र, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दास र स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत कृष्णदेव यादवले मातृ तथा शिशु मृत्यु दर कम गर्नका लागि स्थानीय सरकारको सहयोग आवश्यक भएको बताउनु भयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सबै वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेका थिए ।







प्रतिक्रिया राख्नुहोस्