खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालयको वित्तीय प्रगति ८१ प्रतिशत

जुम्ला । खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आ.व.मा वित्तीय प्रगति ८१.८४ प्रतिशत गरेको छ । न्यून जनशक्ति, भौगोलिक विकटता, मौसम प्रतिकुलता, उपभोक्ताको ढिलासुस्तीका बीच पनि कार्यालय वित्तीय प्रगति ८१ प्रतिशत गरेको छ ।
जसमा सङ्घ सशर्त अनुदान खानेपानी तर्फ, सङ्घ सशर्त सिँचाई, समानीकरण र चालु गरी चार वटा शीर्षकमा कुल विनियोजित ३७ करोड ४३ लाख ५५ हजार बजेट मध्य जम्मा खर्च ३० करोड ६३ लाख ५८ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ ।

जसमा चालु तर्फ विनियोजित ७९ लाख ९० हजार मध्य ७२ लाख ३९ हजार ९ सय ६४ रुपैयाँ खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सशर्त सिँचाई तर्फ विनियोजित कुल १ करोड ५० लाख मध्य १ करोड ३६ लाख ३७ हजार, खानेपानी तर्फ विनियोजित कुल ३ करोड १४ लाख १ करोड ८२ लाख ५० हजार खर्च भएको छ ।
भने, समानीकरण तर्फ विनियोजित ३१ करोड ९९ लाख ६५ हजार बजेट मध्य असार मसान्तसम्म जम्मा २६ करोड ७३ लाख ३२ हजार ७ सय ५० रुपैयाँ खर्च भएको छ । यसरी चारवटा शीर्षकमा विनियोजित कुल ३७ करोड ४३ लाख ५५ हजार मध्य ३० करोड ६३ लाख ५८ हजार अर्थात् ८१.८४ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख अनुप श्रेष्ठले बताउनु भयो ।
विभिन्न चुनौतीका बीच पनि कार्यालयको बजेट खर्च सन्तोषजनक देखिएको छ । पुँजीगत बजेट खर्चलाई प्रभावकारी बनाउन चालु आवमा जनशक्ति परिचालन देखि समयमै योजना सम्झौता,अनुगमन निरीक्षणको कामलाई प्राथमिकता दिइने प्रमुख अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

राज्यको करोडौँ बजेट खर्चिएर गाउँ गाउँमा सिचाई, खानेपानी नदी नियन्त्रणका संरचना निर्माण भएका छन् । ती संरचनाको दिगो विकास, उपभोग र संरक्षणमा स्थानीयको सक्रियता आवश्यक छ ।
एकै वर्षमा १८१ योजना निर्माण सम्पन्न
जुम्लामा खानेपानी, सिचाई, नदी नियन्त्रण र ऊर्जा विकासका झण्डै १ सय ८१ भन्दा बढी योजना निर्माण सम्पन्न भएका छन् । खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आव २०७८÷७९ मा १ सय ८१ वटा योजना निर्माण सम्पन्न गरेको हो ।
कुल २ सय २३ वटा योजना मध्य चालु आवमा लक्ष्य अनुसार काम भएका १ सय ८१ वटा योजना निर्माण सम्पन्न भएका हुन् । जसमा समानीकरण तर्फ सिँचाई, खानेपानी, नदी नियन्त्रण र ऊर्जा विकासका १ सय ९४ वटा योजना मध्य १ सय ६० योजना लक्ष्यअनुसार काम सम्पन्न भएका छन् । त्यस्तै सशर्त सिँचाई तर्फ ९ र सशर्त खानेपानीका २० वटा मध्य १२ वटा गरी २१ वटा योजना निर्माण भएका छन् ।
प्रमुख श्रेष्ठले भन्नुभयो, “गत आवका जम्मा १९४ वटा योजना मध्ये १ सय ६० वटा लक्ष्यअनुसार निर्माण सकिएका छन् । हिउँदमा काम नहुनु, उपभोक्ताले ढिलासुस्ती गर्नु, अख्तियारी समयमै नआउनु जस्ता समस्याले पूर्ण योजना कार्यान्वयनमा चुनौती देखिएको हो । यद्यपि भौतिक प्रगति ८० प्रतिशत भन्दा बढी हासिल गरेका छौ ।”







प्रतिक्रिया राख्नुहोस्