भारतबाट पाँच नेपाली बालबालिकाको उद्धार
झापा । भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरी आज पूर्वी नाका काँकडभिट्टाबाट नेपाल ल्याइएका ती बालबालिकालाई प्रहरीको रोहबरमा परिवारजनलाई जिम्मा लगाइएको छ ।

भारत पश्चिम बङ्गाल कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलको पहलमा आसाम, दार्जिलिङ र सिलगुडीका आश्रमबाट ती बालबालिकालाई उद्धार गरिएको हो । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा र विश्व सेवा बिस्तार संस्थाले सहजीकरण गरेका थिए ।
उद्धार गरिएकामा मेचीनगरका १० वर्षीय सन्तोष रोक्का, भद्रपुरकी १५ वर्षीया प्रियङ्का कार्की, जनकपुरका ११ वर्षीय रोशन पञ्जियार, चितवनका ८ वर्षीय किरण तामाङ र ९ वर्षीय मिलन तामाङ रहेका छन् । तामाङद्वय दाजुभाइ हुन् ।
काँकडभिट्टामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी परिवारजनलाई बोलाएर ती बालबालिकालाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्