२८ करोड लागतमा होल्डिङ सेन्टर निर्माण, हस्तान्तरण हुन नसक्दा सञ्चालनमा आएन
वीरगञ्ज । नेपाल भारत खुला नाकाबाट कोरोना संक्रमित भित्रिन सक्ने हुँदा उनीहरूलाई राख्न सीमा क्षेत्रमा होल्डिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । निर्माणसँगै कोरोना सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा सीमा क्षेत्रबाट संक्रमित भेटिएमा उनीहरूलाई राख्न सहज हुने भएको छ ।

कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय तथा कलेजहरूलाई क्वारेन्टिन बनाइएको भन्दै सरकारको निकै आलोचना भएको थियो । सोही कुरालाई ध्यानमा राखी नेपाल सरकारले वि.स २०७८ वैशाख ५ गते मन्त्रीपरिषद्को निर्णयबाट मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो । निर्माण कार्य सम्पन्न भए पनि हस्तान्तरण हुन नसक्दा होल्डिङ्ग सेन्टर सञ्चालनमा आउने कुरामा आशङ्का पैदा भएको छ ।
सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक रहेको करिब २ विघा जग्गामा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको थियो । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्स्ट्रक्सन ललितपुरले उक्त ठेक्का पाएको थियो । २०७८ चैत्र अन्तिम सम्ममा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको ३ महिना बितिसक्दा पनि हस्तान्तरण र सञ्चालनको विषय प्रस्ट नहुँदा समस्या भएको छ ।
भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि उक्त क्षेत्रमा करिब २८ करोडको लागतमा कुल ६० वटा भवन निर्माण गरिएको छ । जसमध्ये १३ वटा भान्सा घर, २२ वटा शौचालय, तथा १ हजारको सङ्ख्यामा अट्ने गरि २२ वटा क्वारेन्टिन भवन बनाइएको छ ।
उक्त क्वारेन्टिनमा राखिएको ९ सय बेडमा सामान्य लक्षण भएकाहरूलाई राखिने छ भने बाँकी १ सय बेड जटील अवस्थाको बिरामीलाई राखिने छ । यसैगरी अन्य ३ वटा एसीसहितको भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि समेत निर्माण गरिएको छ ।
हनुमान कन्स्ट्रक्सनका विशाल दाहालले होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाइ हुँदा आर्थिक तथा सुरक्षाको चुनौती थपिएको बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भीमकान्त पौडेलले देशका विभिन्न स्थानमा होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले सबैको एउटै प्रक्रियाबाट सञ्चालन गरिने हुँदा सरकारले निर्णय गरेपछि चाँडै हस्तान्तरण हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्