पराजित वडाध्यक्षदेखि शिक्षक र इन्जिनियर पासपोर्ट बोकेर कन्सल्टेन्सीमा

तनहुँ । आजकल विद्यालयका कक्षा कोठामा भन्दा बढी विद्यार्थी विभिन्न देशका भाषा सिकाइने केन्द्रमा देख्न सकिन्छ । देशमा रोजगारीको अवसर नहुँदा विदेश पलायन हुने सोच सहित अहिलेका युवा पुस्ता भाषा केन्द्र चाहार्न बाध्य छन् । पछिल्लो विदेश अध्ययन र रोजगारीका लागि भाषा केन्द्रमा पुग्ने युवा युवतीका जमात भित्र देशका दक्ष जनशक्तिसमेत भेटिन थालेका छन् ।
तनहुँको दुलेगौँडामा सञ्चालित भाषा केन्द्रमा गत स्थानीय तहको निर्वाचनमा पराजित वडाध्यक्षका उम्मेदवार देखि विद्यालयका प्राचार्यसमेत विदेशिनका लागि पुगेका छन् । यहाँको एक भाषा केन्द्र सञ्चालकले आफूकहाँ भाषा सिकेर विदेश पलाएन हुन इन्जिनियर, शिक्षक र व्यवसायीहरू समेत आउन थालेको जानकारी दिनुभयो ।
विगत १० वर्षदेखि कामदार समेत राखेर सिलाई व्यवसाय गर्दै आएका एक व्यवसायीले नेपालको कमाइले घर चलाउन समेत मुस्किल हुँदा विदेशिने सोच बनाएको बताउनुभयो । कोरियाको भाषा सिक्न सनराईज भाषा केन्द्रमा आएका उहाँले आकर्षक कमाई हुने निश्चित भएकाले कोरियन भाषा सिक्न सहभागी भएको बताउनुहुन्छ ।

सात बर्ष दुबईमा आकर्षक कमाई गरेपछि स्वदेश फर्किएर भैसीपालन गरेका पूर्णचन्द्र भट्टराई पनि अहिले निराश भएर विदेशिने सुर कस्नुभएको छ । शुक्लागण्डकी ११ मा व्यावसायिक भैँसी पालन गरेपनि अपेक्षित आम्दानी नभएपछि भट्टराईले कोरियाको भाषा केन्द्रमा भर्ना लिनुभएको हो । ‘दाना चोक्करको भाउ बढेको बढ्यै हुने दूधको भाउ कहिल्यै नबढ्ने’ उहाँले भन्नुभयो, ‘यहाँ बसेर नहुने रहेछ भन्ठानेर फेरी एक पटक विदेश जाने सोच बनाएको हुँ ।’ दुबईमा आकर्षक तलब सुविधा छोडेर परिवारको साथ खोज्दै आएका भट्टराई अहिले देशका अवस्थाबाट दिग्दार छन् ।
उनीजस्तै देशमा केही गर्ने सोच भएका युवा युवतीहरूले अहिले सुरक्षित भविष्य निर्माणकै लागि भाषा केन्द्रमा आउने गरेको कोरियाको भाषा प्रशिक्षक शम्भु रानाले बताउनुभयो । यहाँ लगानीमा सुरक्षा नहुनु र रोजगारीमा आकर्षक तलब सुविधा नभएकै कारण युवापुस्ता विदेश पलाएन हुन थालेको रानाको भनाई छ । उहाँले अन्य मुलुक भन्दा कोरियाको रोजगारी विश्वासिलो र सुरक्षित भएका कारण यसप्रतिको आकर्षण पछिल्लो समयमा बढ्न थालेको बताउनुभयो ।
सनराईज भाषा केन्द्र सञ्चालक रमेश सिग्देलले हजारौँ विद्यार्थी आफ्नो इन्स्टिच्युटबाट विदेशिएको जानकारी दिँदै देशमै आकर्षक रोजगारीको वातावरण सिर्जना गर्न तर्फ राज्यले ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले बर्षेनी हजारौँ विद्यार्थी विदेशिदा अर्वौ रुपैयाँ बाहिरिइरहेको बताउनुभयो ।
यता राज ग्लोबल अध्ययन प्रालिका सञ्चालक बलराम ढकालले देशका युवा युवती र दक्ष जनशक्ति बाहिरिनुलाई चिन्ताको रुपमा लिनुपर्ने बताउनुहुन्छ । ढकालले अध्ययनका लागि जानेहरू विदेशमै बस्ने गरेको तर्फ बेलैमा सचेत नभए देशको अवस्था दयनीय बन्न सक्ने बताउनुभयो ।
शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ६३ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी (नो अब्जेक्सन लेटर) लिइसकेका छन् । जसमा सबैभन्दा धेरै जापान र दोस्रोमा अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएका छन् । नेपालबाट अध्ययनका लागि एक सय भन्दा बढी देशमा जान एनओसी लिन सकिन्छ । यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राखिएको तथ्याङ्क अनुसार हालसम्म दक्षिण कोरियामा रोजगारीका लागि ६० हजार बढी नेपाली पुगेका छन् ।







प्रतिक्रिया राख्नुहोस्