१४ पहिरो प्रभावितलाई लालपुर्जा

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–७ टंसारका बाढीपहिरो पीडितलाई सोमबार लालपूर्जा वितरण गरिएको छ । पहिरो पीडितलाई बस्ती स्थानान्तरणको लागि सोमबार पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले त्यहाँका १४ जना पहिरो पीडितलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
२०७७ भदौमा आएको पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरूलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो । अव सुरक्षित स्थानमा आवास निर्माण गरी सुरक्षित रुपमा बस्न पाइने आशा पलाएको नेपाली कांग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि एवम् स्थानीय युधिर पौडेलले विश्वास ब्यक्त गर्नुभयो ।
हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् । पीडितलाई पुनर्वासका लागि जग्गा खरिद गर्न ३ लाख र घर निर्माणका लागि ५ लाख दिइने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्