तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना,२०७९ सार्वजनिक गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयमा आज एक कार्यक्रम आयोजना गरी पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो । 

कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनरुत्थान गर्ने हेतुले कार्ययोजना तयार गरी सार्वजनिक गरिएको बताउनुभयो । 

मन्त्री श्रेष्ठले विभिन्न ७३ वटा बुँदामा अल्पकालीन तथा दीर्घकालीन कार्ययोजनाहरु समेटेर सरकार र सबै सरोकारवाला निकायको भूमिका सहितको कार्ययोजना ल्याइएको बताउनुभयो । 

उहाँले नेपाललाई विश्वको गन्तव्य बनाउन सक्ने थुप्रै आधारहरू रहेकाले पर्यटन प्रवर्द्धनलाई अभियानकै रुपमा चलाउने सरकारको सोच रहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको पुन उत्थानका लागि पर्यटन दशकको अभियान चलाउने सरकारको सोच रहेको समेत बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजनालाई सफल बनाउन सरकारसँगै निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण हुने स्पष्ट पार्नुभयो । 

मन्त्रालयले सार्वजनिक गरेको ७३ बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, ‘एक नेपाली एक विदेशी साथी नेपाल पटाऊ अभियान’ चलाउने, काठमाडौँका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने विषय समेटिएका छन् । 

यस्तै रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा संवाद पुनः सुरु गर्ने, अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने, महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत विषय पनि कार्ययोजनामा उल्लेख छ ।

यसैगरी, हिमा आरोहणका लागि पाँच हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका हिमचुलीहरूको आरोहण खुला गर्ने, नेपाल वायु सेवा निगमका सबे प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने, सातै प्रदेशमा नेपाल होटल तथा पर्यटन व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान विस्तार गर्नै, विभिन्न प्याकेजहरूको निर्माण गरी त्यसको प्रबद्र्धन गर्ने लगायतका विषय कार्ययोजनामा समाजेश गरिएको छ । 

मन्त्री श्रेष्ठले असार १३ गते  पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गर्नुभएको थियो । 

सो समितिले सरोकारवालासँगको छलफल र विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरू अध्ययन गरी कार्ययोजना तयार गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button