तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा हालसम्म ७९ प्रतिशत धान रोपाई सकियो

पोखरा । यस वर्ष गण्डकी प्रदेशमा धान खेती गरिने मध्येको ७९ प्रतिशत खेतमा धान रोपाई सकिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जिल्लामध्ये गण्डकीका ९ ओटा जिल्लामा मात्रै धान उत्पादन हुने गरेको छ ।

हिमाल पारीको जिल्लाका रूपमा रहेको मुस्ताङ र मनाङमा बाहेक अन्य जिल्लामा धान खेती हुने गरेको छ । गण्डकी प्रदेशका ९ जिल्लामा यस वर्ष कुल १ लाख ३ सय १० हेक्टर क्षेत्रफलमा धान खेती लगाइने अनुमान गरिएको थियो । तर, असारको अन्तिम समयमा वर्षा नभएपछि धान रोपाई प्रभावित बनेको छ ।

मसान्तसम्म ७९ हजार ७ सय १ हेक्टर अर्थात् ७९.४५ प्रतिशत खेतमा रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका सूचना अधिकारी तथा बाली विकास अधिकृत मिलन आचार्यले जानकारी दिनुभयो ।

९ जिल्लाको कुल खेतीयोग्य जमिन ४ लाख ७९ हजार ६१७ हेक्टर रहेकोमा गत वर्ष धान १ लाख ६ सय ७२ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । यस वर्ष १ लाख ३ सय १० हेक्टर क्षेत्रफलमा धान रोप्ने सक्ने अनुमान गरिएको थियो । तर, यस वर्ष पर्याप्त वर्षा नभएका कारण रोपाइँ ढिला भइरहेको कृषि विकास निर्देशनालय प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

समयमै रासायनिक मल नपाएका कारण कृषकहरू समस्यामा रहेको निर्देशनालयका प्रमुख रेग्मी बताउनुहुन्छ । धान खेतीका लागि योग्य जमिन भए पनि विभिन्न कारणले वार्षिक रुपमा ४–५ प्रतिशत खेत बाँझो रहने गरेको तथ्याङ्कले बताउने गरेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले केन्द्रीय समयमा नै केन्द्रीय सरकारले किसानका लागी रासायनिक मल उपलब्ध गराउन नसक्दा प्रदेशमा प्राङगारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गरेको बताउनुभयो ।

गण्डकीमा प्रदेशमा वार्षिक ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। प्रदेशमा चामलका लागि बाहिरी जिल्लाकै भर भए पनि पछिल्लो समय धान खेतीमा किसान आकर्षित बनेका छन् । हालसम्म सबैभन्दा बढी कास्कीमा ९५ प्रतिशत रोपाइँ पूरा भएको छ। त्यहाँ १७ हजार ९ सय ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १७ हजार ४८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

सबैभन्दा कम पर्वतमा ५५ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button