जसपाद्धारा डाक्टर भट्टराईसहित ९ जना नेतालाई कारबाही

वीरगंज । वीरगंजमा सम्पन्न जनता समाजवादी पार्टी जसपाको केन्द्रिय समितिको बैठकले पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईसहित ९ जना नेताहरूलाई पार्टीको विधान विपरीत काम गरेको आरोपमा कारबाही गर्ने निर्णय गरेको छ ।
वीरगंजमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराईसहित केन्द्रिय कार्यकारिणी सदस्य महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गङ्गा श्रेष्ठ, रमेश यादव, दान बहादुर चौधरी र भक्त बहादुर शाहलाई पार्टीको विधान विपरीत काम गरेको आरोप लगाउँदै सम्पूर्ण पदहरूबाट पदमुक्त गर्दै कारबाही गर्ने निर्णय गरेको बताउनुभयो ।
अध्यक्ष यादवले डा. बाबुराम भट्टराईले जसपालाई फुटाउने गरेको प्रयास असफल भएको बताउँदै भट्टराई नयाँ पार्टी दर्ता गराउने प्रक्रियामा अगाडि बढेको हुँदा उहाँ लगायत ९ जनालाई पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताउनुभयो ।
अध्यक्ष यादवले आफ्नो गल्तीको स्वीकार गर्दै पार्टीमा डाक्टर भट्टराई फिर्ता आउन खोजेमा स्वागत गरिने बताउँदै अर्कै पार्टी खोल्छु भनेर जानेलाई नरोकिने खुलासा गर्नुभयो ।
यसैगरी वीरगंजमा सम्पन्न जसपाको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष यादवले बतउनुभयो ।
उहाँले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संसद् विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले प्रतिगमनलाई परास्त गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाएका कारण गठबन्धनको निरन्तरता पार्टीले आवश्यक ठानेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वीरगंजमा सम्पन्न पार्टीको केन्द्रिय कमिटीको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भएपछि पार्टी फुटाउने भट्टराइको सपना चकनाचुर भएको दाबी गर्नु भयो ।
यसैगरी बैठकले पार्टीको संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राई लाई सर्वसम्मत चयन गरेको यादवले जानकारी दिनुभयो ।
अध्यक्ष यादवले वीरगन्जको बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय कार्य समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउने, सङ्गठनलाई अझ चुस्त दुरुस्त बनाउने र जसपालाई एउटा वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
अध्यक्ष यादवले संसदमा पेश भएको नागरिकता संशोधन विधेयक फास्ट ट्र्याकबाट छिट्टै पारित हुने दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले वीरगन्जको बैठक पछि जसपा अब पार्टी विभाजन गर्न खोज्नेहरूलाई एउटा किनारामा छाडेर मूल प्रवाहमा अगाडि बढेको बताउनुभयो ।
वीरगंजको बैठक ऐतिहासिक रहेको भन्दै राईले बैठकले गरेका निर्णयहरुले पार्टीलाई एउटा नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, केन्द्रीय कार्यकारिणी सदस्यहरु रामसहाय यादव, सुशीला श्रेष्ठ, संघीय सांसद नरमाया ढकाल, वीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्