जनसरोकारका विषयहरूमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनसरोकारका विषयमा संसदमा उठाएका विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभामा जनसरोकारका विषयहरू संसद् सदस्यहरु बारम्बार उठाउँदै आएपनि त्यसको कार्यान्वयन नभइरहेको भन्दै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि विशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णय सहितको पत्र अमेरिकी सरकारलाई कूटनीतिक माध्यमबाट तत्काल पत्र लेख्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद श्रेष्ठले उहाँले विगतमा भएका कमजोरीका कारण नराम्नाे प्रभाव पर्न सक्ने भन्दै मन्त्रिपरिषद्ले निर्णय गरिसके विषयलाई अल्झाउन नहुने बताउनुभयो ।
उहाँले गभर्नर महाप्रसाद अधिकारी विवादमा आइसकेपछि त्यसको प्रष्टीकरण समेत नआएकाले उहाँले पद छाड्नुपर्ने बताउनुभयो ।
सांसद भैरव सुन्दर श्रेष्ठले जाजरकोट जिल्लामा गएको पहिरोका नलगाढ जलविद्युत जाने बाटोमा क्षति पु¥याएका कारण आवतजावत र यातायातमा समस्या परेकोले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले आर्थिक सुशासन कायम गर्न नसकिएको भन्दै विगतका सरकारले गरेका कामहरूलाई निरन्तरता नदिँदा धेरै समस्याहरू निम्तिएको धारणा राख्नुभयो ।
सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा गएका नेपालीले पाउने सुविधाका लागि दुई वर्षको मात्र अवधि राखेको र दुर्घटना बापत पाउने सुविधा पनि बिचौलियाले खाइदिने गरेको बताउनुभयो ।
सांसद बेदुराम भुसालले महालेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुको अङ्कले सुशासनको अवस्था देखाएको भन्दै मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले संघीय संसद्को दुवै सदनको भूमिका र गरिमा आ–आफ्नै प्रकारको रहेको स्मरण गराउँदै राष्ट्रियसभालाई उपेक्षा गर्न नहुने बताउनुभयो ।
सांसद भुसालले सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रियसभा र प्रतिनिधिसभाबीच समाचार सम्प्रेषणका विषयमा विभेद गरेको भन्दै यसलाई आफूले गम्भीरतापूर्वक लिएको धारणा राख्नुभयो ।
सांसद खिमलाल देवकोटाले संघीय संसद्को दुवै सदनको भूमिका र गरिमा समान भएको उल्लेख गर्दै राष्ट्रियसभालाई महत्त्व नदिँदा यसको औचित्य नै समाप्त हुने धारणा राख्नुभयो ।
सांसद विमला राई पौडेलले केही महत्त्वपूर्ण विधेयक संसदमा विचाराधीन रहेको उल्लेख गर्दै प्रतिनिधिसभाले वर्षाैसम्म अड्काएर राखेकोप्रति सदनमा ध्यानाकर्षण गराउनुभयो ।
उहाँले मुलुकको आर्थिक अवस्था बिग्रँदै गएकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सरकारको बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाको आजको बैठक जारी छ ।







प्रतिक्रिया राख्नुहोस्