प्रविधिको प्रयोगसँगै रेडियो नेपाललाई सबैको पहुँचमा पुर्याउनुपर्ने छ : सञ्चार सचिव
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नयाँ प्रविधिको प्रयोगसँगै रेडियो नेपाललाई छिटो, छरितो र अझै विश्वसनीय सञ्चारमाध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।

रेडियो नेपालले सोमवार आयोजना गरेको ‘विज्ञापन र कार्यक्रमदाता, विज्ञापन एजेन्सी तथा सरकारी एवं गैरसरकारी निकाय सम्मिलित’ अन्तरक्रिया कार्यक्रममा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा अर्यालले बढ्दो प्रविधिको प्रयोग गर्दै रेडियो नेपाललाई सबै जनताको पहुँचसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “दुर्गमभन्दा दुर्गम स्थानका जनतालाई शिक्षा, स्वास्थ्य, मनोरञ्जन र चेतना फैलाउने सजिलो माध्यम बनाउँदै यसको गुणस्तरमा विकास गर्नुपर्ने छ, सत्यतथ्य, छरितो र सजिलो सञ्चार माध्यमका रूपमा विकास गर्नुपर्ने छ ।”
सचिव अर्यालले बढ्दो सञ्चार माध्यमको विकाससँगै रेडियोहरूको चुनौती थपिए पनि डिजिटल प्रणाली लागु गर्दै रेडियोलाई विश्वसनीय स्रोतका रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । छिटो सूचना दिने नाममा अपुष्ट, अविश्वसनीय र झुटा समाचार र सूचना दिन नहुने उहाँको भनाइ थियो ।
उहाँले रेडियो नेपालसम्म सबैको पहुँच पु¥याउनका निम्ति रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटिटी एप्स सार्वजनिक भइसकेको समेत जानकारी दिनुभयो । रेडियो नेपालले विगत वर्षदेखि नै डिजिटलाइजेशन गरिसकेका श्रव्य सामग्रीहरूको बजारीकरण गरी थप आयआर्जन गर्न ओटिटी एप्स सार्वजनिक गरिएको बताउनुभयो ।
कार्यक्रममा शियर कास्ट नेपालका सिइओ मधु आचार्य र कार्यक्रम निर्देशक भूमिराज चापागाईँले ‘नेपाली मिडिया सर्भे २०२२’ को नतिजा सार्वजनिक गर्नुभएको थियो । स्रोताहरुको मतको आधारमा गरिएको मिडिया सर्भेमा नेपालका ७७ वटै जिल्लामा रहेका नेपाली सञ्चारमाध्यमको अवस्था र रेडियो नेपालको तत्कालीन अवस्था बारे विस्तृत विश्लेषण गरिएको थियो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले गीत–सङ्गीत मनोरञ्जनका साथै समाचार सामग्रीलाई समेत अझै प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।विसं २००७ चैत २० गते विधिवत् रूपमा स्थापना भएको रेडियो नेपाल मुलुककै अग्रणी श्रव्य सञ्चार माध्यम हो । तत्कालीन अवस्थामा प्रचार विभागअन्तर्गत रहेको रेडियो नेपाल विकास समिति ऐन, २०१३ बमोजिम २०४१ साल भदौ १ गते विकास समितिमा परिणत भएको थियो ।

राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी, राष्ट्रिय प्रसारण माध्यमका रूपमा क्रियाशील रेडियो नेपाललाई सर्वाधिक श्रोता र प्रसारण पहुँच भएको राष्ट्रिय रेडियो राष्ट्रको सञ्चारका रूपमा विकास गर्ने दूर दृष्टि लिइएको छ ।

कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले स्वागत मन्तब्य राख्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्