तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा पठाइदिने बहानामा लाखौँ ठगी गर्ने पक्राउ

वीरगंज । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई लाखौँ ठगी गर्ने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नम्बर ३ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थितमा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानुलाई पर्सा प्रहरीले करिब ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

अभियुक्त कानुले सर्वसाधारण व्यक्तिहरूसँग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसा विदेश पठाइ दिन्छु भनी प्रलोभनमा पारी झुक्याइ, मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिसँग २५ हजार देखि २ लाख सम्मको रकम आफ्नो नागरिकता प्रयोग नगरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरी आईएमई मार्फत पैसा पठाउन लगाएर ठगी गरेको उजुरी परेसँगै प्रहरीले अभियुक्तलाई वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अभियुक्त सँग ३ लाख नेपाली रुपैयाँ तथा १ लाख ४८ हजार भारतीय रुपैयाँ आईएमई मार्फत विभिन्न व्यक्तिहरूबाट मगाएको र पैसा झिकेको आईएमई कन्ट्रोल आइडी नम्बर सहितको अन्य कागजातहरू समेत नियन्त्रणमा लिई ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरी थप कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button