तपाईँ सुन्दै हुनुहुन्छः

कुँवर मन्त्री भएपछि अछाम जिल्लावासीमा उत्साह 

अछाम । अछामका कम्युनिष्ट नेता शेर बहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त हुनुभएको छ ।

अछामबाट लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनका एक सक्रिय नेता मन्त्री भए पछि सुदूरपश्चिम तथा यस क्षेत्रका जनताले खुसी व्यक्त गरेका छन् ।

जिल्लाले मन्त्री पाउनु खुसीको कुरा भएको भन्दै यस क्षेत्रमा विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा सुधार हुने स्थानीयले अपेक्षा गरेका छन् ।

को हुन् मन्त्री कुँवर

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य, सङ्गठन विभाग सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष रहेका मन्त्री कुँवर अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्ण सिंह कुँवर र वसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ साल भाद्र ६ गते जन्मनु भएको हो ।

पाँच दाजुभाइ र तीन दिदीमा कान्छो सन्तानका रुपमा जन्मेका कुँवरले २०५२ साल माघ ११ गते अनेरास्ववियु अछामका नेतृ ध्रुवा खड्कासँग विवाह गर्नुभएको थियो । ध्रुवा हाल समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य हुनुहुन्छ । कुँवरका एक छोरी र एक छोरा छन् । मन्त्री कुँवर यसअघि राष्ट्रियसभाका सदस्य हुनुहुन्थ्यो । उहाँको चार वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत हुनुहुन्थ्यो ।

महेन्द्र मोरङ क्याम्पस विराटनगर अध्ययन गर्ने क्रममा कुँवर २०३८ सालदेखि नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर सक्रिय राजनीतिमा लाग्नुभएको थियो । बिराटनगरबाट काठमाडौँ आएर शंकरदेव क्याम्पसमा बिकममा भर्ना हुनुभएको थियो ।

विद्यार्थी सङ्गठनमार्फत राजधानीमा कुँवर २०४६ सालको जनआन्दोलनमा परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा पटक पटक गिरफ्तारमा पर्नुभएको थियो ।

गृह जिल्ला अछाम फर्केपछि ०४७ सालमा अछाममा अनेरास्ववियुको दोस्रो जिल्ला अधिवेशनबाट कुँवर कमिटीको अध्यक्ष बन्न सफल हुनुभएको थियो । ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै कुँवर २०४९ को स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लड्नुभएको थियो ।

अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माताका रुपमा चिरपरिचित मन्त्री कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ पर्दछ । मन्त्री कुँवरले तीन पटकसम्म एमाले अछामको नेतृत्व गर्नुभएको छ ।

सङ्कटकालको बेला अछाम जिल्लाको सदरमुकाम मंगलसैनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको सङ्गठनलाई जोगाएका कुँवरले देशैभर एमाले ओरालो लागेको समयमा विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । त्यसबेला भीम रावल समानुपातिकबाट सांसद चुनिनुभएको थियो ।

मन्त्री कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । असार १२ गते प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा मन्त्रीमा  नियुक्त कुँवरले आज असार १३ गते शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button