ललितपुरमा पानीपुरी बिक्रीमा रोक

ललितपुर । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्री वितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरी बिक्रीमा रोक लगाइएको हो ।
बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।”
कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताउनुभयो । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी बिक्री वितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्