जीतपुरसिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार नदीजन्य पदार्थको ठेक्काको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी हिनामिना गराएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंविरुद्ध २ करोड २० लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ४ का न्यू पाथिभरा सप्लायर्सका प्रोप्राइटर मिराकुमारी श्रेष्ठलाई बिगो १ करोड ६६ लाख, बारा जिल्ला कलैया उपमहानगरपालिका ६ का ओम सप्लायर्सका प्रोप्राइटर ओम शङ्कर प्रसादलाई बिगो एक करोड ३८ लाख ९९ हजार राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको उहाँले बताउनुभयो ।
२ करोड २० लाखको भ्रष्टाचार मुद्दा दायर गरिएका जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं अहिले जिल्ला प्रशासन कार्यालय बाराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्