प्राविधिक शिक्षामा सबैको पहुँच आवश्यक : पूर्व राष्ट्रपति यादव

विराटनगर । पूर्व राष्ट्रपति रामवरण यादवले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
मोरङको जहदा गाउँपालिका–४ मा रहेको सैलजा आचार्य स्मृति पोलिटेक्निकको अनुगमन निरीक्षणपछि आज आयोजित कार्यक्रममा प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्ने भएकोले शिक्षामा सबैको पहुँच आवश्यक रहेको बताउनुभयो ।
उहाँले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनु पर्ने बताउनुभयो ।
सैलजा आचार्यको नाममा स्थापन भएको प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश, स्थानीय गरी तिनै तहको सरकारको ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

उहाँले समुदाय शिक्षित भएमा मात्र समाज परिवर्तन हुने भएकाले सबैलाई न्यून शुल्कमा शिक्षाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षा हासिल गरेपछि आफूले सिकेको ज्ञान र सिपलाई राष्ट्रको हितमा उचित प्रयोग गर्नुपर्ने बताउनुभयो ।
पूर्व राष्ट्रपति यादवले जातीय समाजभन्दा माथि उठेर मुलुक र समाजको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो ।
सिटिभिटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । तीन विघा क्षेत्रफलमा फैलिएको सो विद्यालयमा अहिले ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयका प्रमुख सन्तबहादुर अधिकारीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्