चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु: मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

आज नेपाल चलचित्र सङ्घको ४७ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मन्त्री आलेले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरूलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताउनुभयो ।
मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उहाँले चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।
चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र सङ्घले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर सङ्घको प्रशंसा समेत गर्नुभएको थियो ।
उहाँले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवन ताल लगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायाङ्कन गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने वरिष्ठ नायक तथा चलचित्र निर्मातालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्