तपाईँ सुन्दै हुनुहुन्छः

भारतले गर्न लागेको वृक्षारोपण स्थानीयको विरोध पछि रोकियो

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ जामुनाघारी स्थित नेपाल–भारत सीमा स्तम्भ नं. १४ नजिक भारतीय वन विभागले नेपाली भूमिमा गर्न लागेको वृक्षारोपण स्थानीयको विरोधपछि रोकिएको छ । स्थानीयको विरोधपछि सीमा क्षेत्रमा पुगेको सशस्त्र प्रहरीले वृक्षारोपणका लागि गाडिएका पिलर भत्काएको छ ।

भारतीय वन विभागले आफ्नो क्षेत्रमा पर्ने भन्दै नेपालको झण्डै ५ बिगाहा चरिन क्षेत्र वृक्षारोपण गर्न थालेको थियो । भारतले आफ्नो दुई सय बिगाहामा वृक्षारोपण गर्न लागेको छ । भारतीय वन विभागले वृक्षारोपण गर्न लागेको नेपाली भूमि देवीस्थानस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट एक किलोमिटर दुरीमा पर्छ ।

स्थानीयको विरोधले वृक्षारोपण रोकिएपछि मात्रै सशस्त्र प्रहरी अतिक्रमित भूमिमा पुगेको छ । स्थानीयको विरोध छलेर नेपाली भूमिमा गाडिएका पिलर भने सशस्त्रले हटाएको छ । जमुनाघारीस्थित नेपाली भूमि अतिक्रमण भएपछि सशस्त्र प्रहरीको भूमिकामाथि स्थानीयले आशङ्का गरेका छन् । 

भारतीय अतिक्रमण विरुद्ध स्थानीय र जनप्रतिनिधि सशक्त रुपमा उभिएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्ट पनि जनप्रतिनिधि सहित अतिक्रमित स्थानमा पुगेका छन् ।

उनी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, वडा अध्यक्ष हरसिंह धनाडी, एमाले कञ्चनपुर जिल्ला सदस्य राजीव खड्का सहित जमुनाघारी पुगेको छ ।

दोधारा चाँदनी नगरपालिका ३ का वडाध्यक्ष हरसिंह धनाडीले बुधवार बिहानदेखि भारती वन विभागले वृक्षारोपणको लागि खम्बा गाड्दै गरेको अवस्थामा स्थानीहरूको सहयोगमा उक्त कार्य रोक्ने काम भएको बताउनु भएको छ ।

चरिचरनको रुपमा रहेको झण्डै ५ बिगाहा नेपाली भूमिलाई भारतीयले वृक्षारोपण गर्ने तयारीमा रहेको उहाँले बताउनु भएको छ । भारतीयले सीमा क्षेत्रमा रहेको जामुना आधारभूत विद्यालयलाई समेत आफ्नो देशको विद्यालय भन्न थालेको स्थानीयले बताएका छन् ।

जामुनाघारीको सीमा क्षेत्रमा बुधवार बिहान देखि भारतीय पक्षले नेपाली भूमि कब्जा गर्ने प्रयास गरिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानको टोली उक्त क्षेत्रमा गस्तीमा खटिएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरीक्षक चन्द्र देब भट्टले नेपाली भूमिमा भारतीयले गाडेको ७ वटा पोल (खम्बा) उखेलेर फालेको बताउनु भएको छ ।

सरकारले सीमा अपराध नियन्त्रण सहित भूमि अतिक्रमण रोक्न देवीसथान सहित दोधारा चाँदनी नगरपालिका आधा दर्जन स्थानमा सशस्त्र प्रहरीका पोष्ट राखेको छ । यस अघि दोधारा चाँदनीमा एउटै सशस्त्र प्रहरीको बिओपी थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button