शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षा सामग्री केन्द्रको आकस्मिक अनुगमन

भक्तपुर । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आज विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीको आकस्मिक अनुगमन गर्नुभएको छ ।
देशभर विद्यालय तहको पाठ्यपुस्तकको अभाव भइरहेका बेला मन्त्री पौडेलले केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको हो ।
सो क्रममा मन्त्री पौडेलले केन्द्रका कर्मचारीलाई अपवाद बाहेक एक हप्ताभित्र देशभरका सरकारी विद्यालयका विद्यार्थीको हात हातमा किताब पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री भएदेखि नै आफूले नयाँ शैक्षिक सत्र सुरु हुने बित्तिकै छिटोभन्दा छिटो पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन आफूले जोड दिँदै आएको भए पनि पाठ्यपुस्तक अभावका कारण केन्द्रलाई संसदीय समितिले बोलाउने अवस्था आउनु दुखद भएको उहाँको भनाई थियो ।
मन्त्री पौडेलले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न ढिलाइ भएको केन्द्रका पदाधिकारीको भनाई उचित र पर्याप्त नभएको बताउनुभयो ।

मन्त्री पौडेलले केन्द्रमा भइरहेको पुस्तक छपाइको अवस्था र तीन वटा पुस्तक भण्डार कक्षको सूक्ष्म रुपमा अवलोकन गर्नुभएको थियो ।
मन्त्री पौडेलसमक्ष केन्द्रका पाठ्यपुस्तक खरिद शाखा प्रमुख रामबहादुर कुँवरले छपाइ र ढुवानीका काम तीव्र गतिमा भइरहेको बताउँदै छिटै विद्यार्थीको हात हातमा किताब पुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पुस्तक छपाईका लागि कागजको अभाव हुन नदिन र ढुवानीको सहज व्यवस्थाका लागि मन्त्री पौडेल समक्ष सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्