तपाईँ सुन्दै हुनुहुन्छः

नियुक्तिपत्र विना कामकाज नगर्न पारिश्रमिक समितिको अध्यक्षको सुझाव

जनकपुरधाम ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नभएको भन्दै कार्यान्वयनका लागि समितिलाई सहयोग गरिदिनका लागि मोफसलका पत्रकारहरूलाई आग्रह गर्नु भएको छ । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज जनकपुरधाममा आयोजना गरेको “श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अहिले पनि जिल्लाका सञ्चार माध्यमहरूले समितिले तोकेको पारिश्रमिक उपलब्ध गराउन नसकेको गुनासो व्यक्त गर्नु भएको छ । 

सञ्चार माध्यमका सञ्चालकहरूले विभिन्न बहानामा पत्रकारहरूलाई  पारिश्रमिक उपलब्ध नगराउने गरेको बताउँदै पत्रकारहरूले पनि न्यूनतम पारिश्रमिक विना कामकाज गर्नु पत्रकारहरूको कमी कमजोरी भएको बताउनु भयो । 

नियुक्ति र न्यूनतम पारिश्रमिक विना कामकाज नगर्नका लागि समितिका पदाधिकारीहरूले आग्रह गर्दै विना नियुक्ति कामकाज गर्‍यो भने त्यसको जिम्मेवारी कसैले पनि लिन नसक्ने जानकारी  गराएका थिए । 

कार्यक्रममा बोल्दै मधेस प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले  नियुक्ति पत्र तथा पारिश्रमिक मिडियाका सञ्चालकहरू सँग तोक्न लगाएर मात्र कामकाज गर्नका लागि पत्रकारहरूलाई सुझाव दिनु भएको थियो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारहरूको लागि निर्धारण गरेको पारिश्रमिक दिलाउनका लागि समितिले राय सुझा दिँदै आएको बताउँदै पत्रकारहरूले पनि आफ्नो क्षमतामा सुधार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले पत्रकारहरूको हक हितको दृष्टिकोणले नेपालमा एसियामा नै राम्रो अवस्थामा रहेको बताउँदै ऐन कानुनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको प्रस्ट पार्नु भयो ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सदस्यद्वय गोपाल तिवारी, विमला पाण्डे, नेपाल पत्रकार महासङ्घ प्रादेशिक समितिका अध्यक्ष राजेश कर्ण सहितका वक्ताहरूले बोल्नु भएको थियो । 

कार्यक्रममा सहभागी भएका पत्रकारहरूले आ–आफ्नो सञ्चार माध्यममा भोग्नु परेका पिडा तथा गुनासाहरूको विषयमा विभिन्न प्रकारका राय सुझावहरू दिनु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button