राष्ट्रिय सभा बैठक : नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ

काठमाडौँ । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “ राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव पेस गरेसँगै छलफल प्रारम्भ भएको हो ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० का नीति तथा कार्यक्रम माथि ५ जना सांसदहरुले संयुक्त रुपमा ३ वटा संशोधन प्रस्ताव राख्नुभएको छ ।
संयुक्त संशोधन प्रस्ताव प्रस्तुत कर्ता सांसद भगवती न्यौपानेले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमको बुँदा नं. ४३ मा उल्लेखित औद्योगिक क्षेत्रमा पूर्वाधार निमार्ण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने कुरा सान्दर्भिक नभएको भन्दै सरकारले नै त्यस्को जिम्मा लिनुपर्ने गरी संशोधन गर्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम महत्त्वाकाङ्क्षी र सस्तो लोकप्रियताका लागि ल्याइएको आरोप लगाउनुभयो ।
सांसदहरुले देशको आर्थिक अवस्थालाई नजर अन्दाज गरी नीति तथा कार्यक्रम आएको भन्दै व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको उल्लेख गर्नुभयो ।
यस्तै बैठकमा सत्ता पक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम विगतमा जस्तो सपना बाँड्ने प्रवृत्तिलाई चिर्ने गरी बस्तुगत धरातलबाट आएको धारणा राख्नुभयो ।
बैठकमा सांसद डा.बेदुराम भुसालले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, पूर्वाधार निर्माण, उत्पादन वृद्धि, उत्पादकत्वमा जोड, सङ्घीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
त्यस्तै, सांसद भुसालले नीति तथा कार्यक्रममा उल्लेख गरिएका कृषि, यातायात, ऊर्जा, पर्यटन, सूचना प्रविधिलाई अगाडि बढाइ उत्थानशील अर्थतन्त्र, निर्माण गर्दै मुद्रास्फीति वाञ्छित सीमाभित्र राख्ने कुरा सकारात्मक रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्