‘बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध’
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधवार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताउनुभयो ।

बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उहाँहरूका मागप्रति नजरअन्दाज नगरिने मन्त्री झाँक्रीले स्पष्ट पार्नुभयो ।
छलफलमा धादिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूमि पाठकले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताउनुभयो ।
यस्तै अर्का सांसद हितबहादुर तामाङले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिनुभयो ।

धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउनुभयो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताउनुभयो । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उहाँहरूले आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्