तपाईँ सुन्दै हुनुहुन्छः

हरिनगरका अध्यक्ष अन्सारी, उपाध्यक्ष भगतद्वारा पदभार ग्रहण 

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारी मियाँ र उपाध्यक्ष रिमझिम कुमारी भगत सहितले पदभार ग्रहण गर्नुभएको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीका अनुसार पहिलो बैठकले स्थानीय तह सदस्य निर्वाचन २०७९, बाट निर्वाचित भएपश्चात् निर्वाचित गर्नु हुने सम्पूर्ण मतदाता आम हरिनगर गाउँवासीहरू तथा यस निर्वाचनमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मीहरू समेतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । 

त्यसैगरी हरिनगर गाउँपालिकाको अधिकांश भूभाग कृषि योग्य जमिन रहेको, यहाँका बहुसङ्ख्यक घर परिवारको मुख्य पेशा कृषि रहेको, गाउँपालिकामा आधुनिक कृषि प्रणालीको विकास गर्न आधुनिक प्रविधिको प्रयोग गरी शासन प्रक्रिया एवम् सेवा प्रवाहमा सुधार गर्दै कृषि विकासको माध्यमबाट स्थानीय आर्थिक विकास गर्न नवप्रवर्तनमा आधारित कार्यक्रम “स्थानीय आर्थिक विकासका लागि शासन प्रक्रिया र सेवा प्रवाह सुधार कार्यक्रम”सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकमा हरिनगर गा.पा. क्षेत्र भित्र रहेका पक्की सडकहरूमा सडक बत्तीको व्यवस्था गर्ने, हरिनगर क्षेत्र भित्र निर्माण भइरहेको कालोपत्रे सडकहरूको निर्माण कार्य यथाशीघ्र सम्पन्न गराउने, विपन्न गरिब मजदुरहरूलाई लक्षित गरिबीमा कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक वर्ष १० वटा गरिब विपन्न घर परिवारहरूलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने निर्णय गरेको अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।

पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव कोइरालाले विकास क्रमशः हुने भएकाले स्रोतसाधनले भ्याए अनुसार गर्न आग्रह गर्नुभयो । कोइरालाले विकासका लागि गाउँपालिकाले पहिलो पाँच वर्षमा उदाहरणीय कामहरू गरेकाले त्यसको प्रशंसा गर्नुहुँदै बाकी रहेका कामहरू छिटोछरितो र गुणस्तरीय रुपमा गर्न सुझाव दिनुभयो । 
कोइरालाले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासमा ध्यान दिन समेत सुझाव दिनुभयो । कृषि क्षेत्रका उर्वर भूमि भएर पनि सिँचाइ र बजारको अभाव भएकाले त्यसमा ध्यान दिन तथा ठुला परियोजनाका लागि आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो । 

त्यसैगरी प्रदेश सांसद ताहिर मियाँले बिपी बाबु र गिरिजाबाबुको सपना सकार हुँदै घरघर र गाउँ गाउँमा सिंह दरबार आएकाले समावेशी प्रतिनिधित्व गर्न पाएको बताउनुभयो । उहाँले समावेशी जनप्रतिनिधिहरू आएकाले विकास तीव्र गतिमा हुने समेत विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा ७ वटै वडाका अध्यक्षहरू, सदस्यहरु, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मीहरू र उल्लेख्य सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button