एमालेले लुम्बिनी प्रदेशसभाको अवरोध खुलाउने

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको अवरोध खुलाउने भएको छ । उसले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो ।
पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरूलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो । तर, प्रदेशसभाको दशौं अधिवेशनको दोस्रो बैठक एमालेले अवरोध नगर्ने भएको छ ।
यससँगै अधिवेशन नियमित हुने भएको छ । मङ्गलवारदेखि संसद्को नियमित प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
ढकालले बजेट, नीति तथा कार्यक्रमको तयारीलगायतका महत्त्वपूर्ण विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले सदनमा अवरोध नगर्ने भएको बताउनुभयो ।एमालेले संसदमा अवरोध नगर्ने सङ्केत पाएपछि सरकारले मङ्गलवार नै प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने तयारी गरेको छ ।
आजको बैठकमा विपक्षी दलका नेता पोखरेलले विशेष समयमा बोल्ने र आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले ती विधेयक सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्