तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा महिला प्रतिनिधि: ३ वडाध्यक्ष मात्र

स्याङ्जा । स्याङ्जाका ३ पालिकामा महिला उम्मेदवार निर्वाचनमा होमिए पनि जित्न सकेनन् । पुतली बजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले र संयुक्त गठबन्धनले महिला उम्मेदवार उठाए पनि यस पटकको निर्वाचनबाट महिला चुनिन सकेनन् ।

पुतली बजार नगरपालिकामा निवर्तमान प्रमुख सीमाकुमारी क्षेत्री नेपाली काँग्रेसका तुलसी रेग्मीसँग पराजित हुनुभयो ।

अर्जुनचौपारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष चिनमाया गुरुङ गठबन्धनबाट नेपाली काँग्रेसका प्रकाश तिवारीसँग पराजित हुनुभयो । गुरुङलाई तिवारीले १ हजार ९४४ मतान्तरले पराजित गर्नुभएको हो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएकी माया राना एमालेका उम्मेदवार खिमबहादुर थापासँग पराजित हुनुभयो । निवर्तमान अध्यक्ष थापाले गठबन्धनबाट काँग्रेसकी उम्मेदवार रानालाई १ हजार ६४५ मतान्तरले पराजित गर्नुभएको हो ।

११ वटै पालिकामा पुरुष उम्मेदवार विजयी हुनुभयो, ११ वटै पालिकामा महिलाहरू उपमा मात्र सीमित हुनुभयो ।

जिल्लाका ९७ मध्ये ३ वडाध्यक्ष मात्रै महिला निर्वाचित भएका छन् । चापाकोट नगरपालिकामा नेपाली काँग्रेसबाट तारादेवी पोख्रेल, बिरुवा गाउँपालिकामा माओवादी केन्द्रबाट मनुकुमारी राना र कालिगण्डकी गाउँपालिका–२ नेपाली काँग्रेसबाट खगिसरा आले निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button