बलात्कार घटनाका आरोपीलाई तत्काल कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । आठ वर्षअघि आफू बलात्कृत भएको घटनालाई सार्वजनिक गरेकी एक युवतीका आरोपीलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आठ वर्षअघि आफू बलात्कृत भएको घटना सार्वजनिक गरेकी युवतीका आरोपीलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्नुभएको थियो ।
सांसद थापाले बलात्कारसम्बन्धी कानून फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो ।
त्यसपछि सभामुख सापकोटाले यौन हिंसा सम्बन्धी विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुहुँदै सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभयो ।
सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीलाई आठ वर्षअघि सञ्चालकले नै बलात्कार गरेको घटना सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि दोषीलाई तत्काल कारबाही गर्न सांसदहरुले माग गरेका हुन ।








प्रतिक्रिया राख्नुहोस्