मकवानपुरका सात स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
मकवानपुर । मकवानपुरका सात स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र आठ वटा गाउँपालिका मध्ये हालसम्म सात वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयद्वारा प्राप्त विवरण अनुसार बुधवार दिउँसो सम्ममा मकवानपुरमा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली काँग्रेसले चार र माओवादीले एउटा तथा उपप्रमुखमा नेपाली काँग्रेसले दुई र माओवादीले चार वटा स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले दुई वटा स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुखमा जित हासिल गरेको छ ।
कार्यालयका अनुसार नेपाली काँग्रेसले कैलाश, राक्सिराङ, मकवानपुर गढी र बकैया गाउँपालिकामा प्रमुख र थाहा र भीमफेदीमा उपप्रमुख पद जितेको छ भने, माओवादी केन्द्रले थाहा नगरपालिकामा प्रमुख र कैलाश, राक्सिराङ, मकवानपुर गढी र बकै उपप्रमुख पदमा जित हासिल गरेको छ ।
यस्तै नेकपा एमालेले ईन्द्रसरोवर गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा भीमफेदी गाउँपालिकामा प्रमुख पद जितेको छ ।
कार्यालयका अनुसार गठबन्धन (काँग्रेस) का तर्फबाट प्रमुखमा कैलाश गाउँपालिकामा लोक बहादुर मोक्तान, राक्सिराङ गाउँपालिकामा राजकुमार मल्ल, मकवानपुर गढी गाउँपालिकामा दोर्जे लामा स्याङतान र बकैया गाउँपालिकामा धर्मराज लामिछाने विजयी हुनुभएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट थाहा नगरपालिकामा भरत गोपाली र भीमफेदी गाउँपालिकामा सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ ।
यस्तै माओवादीका तर्फबाट प्रमुख पदमा जिल्लाको एक मात्र थाहा नगरपालिकामा विष्णु बहादुर विष्ट विजयी हुनुभएको छ भने उपप्रमुखमा कैलाश गाउँपालिकामा बालकुमार मल्ल, राक्सिराङ गाउँपालिकामा बनस्तम थिङ, मकवानपुर गढी गाउँपालिकामा मान कुमारी नेपाली र बकैया गाउँपालिकामा भक्त बहादुर खत्री विजयी हुनुभएको छ ।
त्यस्तै नेकपा एमालेका तर्फबाट जिल्लाको ईन्द्रसरोवर गाउँपालिको अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमा कुमारी लामा तथा भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा विजयी हुनुभएको छ ।
जिल्लाको १० स्थानीय तहको १०२ वडामध्ये हालसम्म ८१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । अब जिल्लाको हेटौँडा उपमहानगरपालिका, मनहरी र बागमती गाउँपालिकाको नतिजा आउन बाँकी रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्