२५६६ औँ बुद्ध जयन्तीको लुम्बिनीमा भव्य तयारी
भैरहवा । भगवान् गौतम बुद्धको पवित्र जन्म स्थल लुम्बिनीमा २५६६ औँ बुद्ध जयन्तीको भव्य तयारी भएको छ ।
विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीको औपचारिक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरबाट आउने हुँदा हेलिप्याड समेत निर्माण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने समयमा सर्वसाधारणका लागि बन्द गरिने छ ।
कोभिड पछि भव्य रुपमा हुन लागेको बुद्ध जयन्तीका अवसरमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको बुद्ध जयन्तीका अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ध्यान केन्द्रको बाहिर रङ रोगन तथा सरसफाइ, सडक मर्मत इत्यादि काम भइरहेको छ ।
लुम्बिनीमा बुद्ध जयन्तीका लागि सजावट, पर्यटकीय क्षेत्रको सरसफाइ, पूजापाठका विशेष कार्यक्रमहरूको तयारी भइरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठीले जानकारी दिनुभयो ।
मायादेवी मन्दिरमा भारतीय प्रधानमन्त्रीले पूजा गर्ने कार्यक्रम, दुई देशका प्रमुखको शिष्टाचार भेट वार्ता हुने, बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा भारतीय प्रधानमन्त्री तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण) ले जानकारी दिनुभयो ।
जेठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन भएको छ । जेठ २ गते मायादेवी मन्दिरमा बुद्ध पूजा तथा परित्राण पाठ, नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा माया देवी मन्दिरमा पूजा पाठ, दिउसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको अति विशिष्ट अतिथि, अतिथिद्वारा विशेष समारोह, साँझ मायादेवी परिसरमा दीप प्रज्वलन, जेठ ३ गते लुम्बिनी देखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शुभ यात्रा लगायतका कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्