तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका सबै मतदान स्थलमा खटिए कर्मचारी

पर्वत ।  पर्वतका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । 

कतिपय ठाउँमा यातायातका साधनमा त सदरमुकाम वरिपरि पैदलै हिँडेर कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् । जिल्लाका ७४ मतदान स्थलका १४७ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । 

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेको उहाँले बताउनुभयो ।

एक सय ४७ जना मतदान अधिकृत, १४७ सहायक मतदान अधिकृत, २९४ सहायक कर्मचारी, १४७ जना सहयोगी कर्मचारी गरी ११ सय भन्दा बढी कर्मचारी परिचालन गरिएको शर्माले जानकारी दिनुभयो । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार कुस्मामा तालिम दिइएको थियो ।

मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको प्रजिअ सापकोटाले बताउनुभयो । 

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ७४१ जना म्यादी प्रहरी नियुक्त भएका छन् । जिल्लाभर झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । 

सात वटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता रहेका छन् । जिल्लाभर ३१९ पदका लागि ८६५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button