तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतद्वारा पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशहरुलाई सम्मान

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशहरुलाई सम्मान गरेको छ । 

कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आज ४ पूर्व प्रधानन्यायाधीश र ११ न्यायाधीशलाई सम्मान गरेको हो ।

सर्वोच्च अदालतका रजिस्टार नारायण प्रसाद पन्थीले न्यायपालिका सदैव सक्षम, स्वतन्त्र र निर्भीकताका साथ कार्यसम्पादनमा प्रतिबद्ध रहेको बताउनुभयो । 

सर्वोच्च अदालत परिसरमा राखिएको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की, कूटनीतिक नियोगका प्रतिनिधिहरू, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीश, न्यायाधीश, सुरक्षा निकायका प्रमुखहरू, विशिष्ट व्यक्तित्वलगायत कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

आजै कानुन दिवसका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीले न्यायपालिकाप्रति आस्था र विश्वास अभिवृद्धि गर्न छिटो छरितो र विश्वसनीय न्याय सम्पादनमा क्रियाशीलता देखाउन आवश्यक रहेको बताउनुभएको छ । 

उहाँले  न्याय गरेर मात्र हुँदैन न्याय गरेको देखिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सेवाग्राहीहरूले न्याय प्राप्तिको वास्तविक अनुभूति गर्ने गरी कार्य सम्पादन अघि बढेको बताउनुभएको छ । 

नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको सम्झनामा सर्वोच्च अदालतको पूर्ण बैठकले २०४८ साल असोज ११ गते वैशाख २६ गते कानुन दिवस मनाउने निर्णय गरे अनुसार हरेक बर्ष आजको दिन कानुन दिवस मनाउने गरिएको छ ।

नेपालको न्यायिक इतिहासमा आजको दिनलाई प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थान विन्दुको रुपमा लिने गरिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button