वीरगञ्ज महानगर: ५ दलीय गठबन्धनका उम्मेदवारद्वारा घोषणापत्र सार्वजनिक
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार राजेशमान सिंहले वीरगन्जको अधिकारको लडाइँलाई निष्कर्षमा पुर्याउँदै समुन्नत वीरगन्ज निर्माणमा आफूहरू जुटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिकाको पाँच दलीय गठबन्धनका उम्मेदवारहरूको साझा घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुखका उम्मेदवार सिंहले विगतको नेतृत्वका कारण वीरगन्ज विकासमा दशकौँ पछि परेको बताउनुभयो ।

उहाँले वीरगन्ज महानगरको भविष्य निर्माणका लागि गठबन्धनले वीरगन्जको उज्ज्वल भविष्यलाई केन्द्रमा राखेर साझा घोषणापत्र सार्वजनिक गरेको बताउँदै कहिल्यै न्यायपूर्ण व्यवहार नपाएको वीरगन्जले अब पाउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन काँग्रेस एक ढिक्का रहेको बताउनुभयो ।
वीरगन्जको विकास र समृद्धिका लागि राजेशमान सिंह र इम्तियाजको टिमलाई जिताउन आफूहरू एक जुट भएको बताउँदै यो विषय पाँचै दलको प्रतिष्ठासँग जोडिएको हुँदा यसमा दुबिधा नरहेको दाबी गर्नुभयो ।
सार्वजनिक गरिएको साझा घोषणा पत्रमा अत्यधिक करबाट आत्तिएका नगरबासीलाई राहत हुने गरी कर घटाइने उल्लेख गरिएको छ ।
वीरगञ्ज नगरपालिकाको रुपमा स्थापित भएयता कहिल्यै तिर्नु नपरेको सरसफाइ शुल्क महानगरले उठाइरहेकोले उक्त शुल्क खारेज गरिने घोषण पत्रमा उल्लेख छ ।
सार्वजनिक गरिएको साझा प्रतिबद्धता अनुसार महानगरपालिकाले उठाउँदै आएको पिठिया कर खारेज गरिने, पानी र बिजुलीको न्यूनतम शुल्क तिर्न नसक्ने गरिब तथा विपन्न नागरिकको महसुल वीरगञ्ज महानगरले व्यहोर्ने र कृषि योग्य जग्गामा मालपोत बाहेकको कर हटाउने उल्लेख गरिएको छ ।
विविध कारणले कृषकको बाली तथा पशुधन नष्ट हुँदा राहत पाउने गरी निःशुल्क कृषि तथा पशुधन बिमाको कार्यक्रम पनि अघि सारिएको छ । सरकारी स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्दै सुलभ दरको स्वास्थ्य सेवामा जोड दिने र न्यूनतम शुल्क तिर्न नसक्ने गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमाको योजना अघि सारिएको छ ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार राजेशमान सिंह, उपमेयर पदका उम्मेदवार ईम्तीयाज आलम, नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, जनार्दन यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेता श्याम पोखरेल, राम आश्रय राम लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्