नेपालगन्जमा गठबन्धनका उम्मेदवारको सङ्कल्प पत्र सार्वजनिक
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनका उम्मेदवारको सङ्कल्प पत्र सार्वजनिक गरिएको छ ।
आज एक समारोहबिच प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौर, काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मीकि, नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, काँग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदीश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।

“पाँच वर्ष पाँच सङ्कल्प” भन्ने मूल नाराका साथ उक्त सङ्कल्प पत्रमा सद्भावको सहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रूपान्तरणलाई समावेश गरिएको छ । सङ्कल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा: कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहर मैला व्यवस्थापन तथा सरसफाइ, विपद् व्यवस्थापन, सामाजिक न्याय र समावेशिता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ ।
यस्तै नेपालगन्जलाई शैक्षिक हबका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरूको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ ।
कृषि बिमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्याङ्कन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरूमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरिएको छ ।
यसका साथै युवा युवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैङ्किङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ । सङ्कल्प पत्रमा स्थापित तथा उदीयमान गन्तव्यहरूको पहिचान, सहज र सुलभ पहुँचका लागि गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने कुरालाई पर्यटनको विषयमा उठान गरिएको छ भने स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदिको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।
स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दे सांस्कृतिक सङ्ग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याइने लगायत महत्त्वपूर्ण विषयहरू सङ्कल्प पत्रमा समावेश गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्