तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिका: पाँच दलीय गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

चितवन । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाका पाँच दलीय गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज भरतपुरमा आयोजित कार्यक्रममै एसियाकै नमुना सहर र नगरवासीलाई सम्पुर्ण सुविधा उपलब्ध गराउने विशेष योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरियो ।

भरतपुर नगर समितिले तयार गरेको घोषणापत्र भरतपुर महानगर मेयर पदका प्रत्याशी रेणु दाहाल र उपमेयर पदका प्रत्याशी चित्रसेन अधिकारीले आज संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । ‘विगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न, भूमिहीनका समस्या समाधान गर्न, १२ कक्षा सम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक बिमा कार्यक्रम, स्थानीय सीप, श्रोत, पुँजी र पहिचानलाई परिचालन गर्दै औद्योगीकरण मार्फत रोजगारी सिर्जना गर्नेसँगै वडामा सुविधा सम्पन्न अस्पताल तथा वृद्ध र अशक्तहरूलाई घरघरमै स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धता पत्रमा नीतिगत सुधार एवं आगामी कार्यकालमा गरिने कार्यहरू बुँदागत रुपमा उल्लेख गरिएको छ । प्रत्याशीहरूले आगामी कार्यकालमा भरतपुरलाई सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एसियाली मापदण्डको भौतिक पूर्वाधार, नारायणी नदीमा २५० मेगावाट विद्युत् उत्पादन, सबैको लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटन: स्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारी मुक्त भरतपुर, केही महिनाभित्रै इलेक्ट्रिक बस सञ्चालन, समृद्धिका लागि वन कार्यक्रम, सक्षम, स्वास्थ्य र सुरक्षित महिला एवं बालबालिका, भरतपुर देशकै खेलकुद केन्द्र, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम लगायत विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेतृत्व परिक्षण सफल भइसकेकाले पनि केही महत्त्वाकाङ्क्षी योजना ल्याएको र आउँदो कार्यकालमा अहिले गरिएका प्रतिबद्धता एवं कार्यक्रमहरू सफल बनाएरै छाड्ने उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिबद्धता पत्रमा नीतिगत तर्फ महानगरको विकासमा कोही पक्ष–प्रतिपक्ष नभई राजनीतिक सहमति, सहकार्य र समन्वयमा अघि बढ्ने, महानगरको समृद्धिका आधार: दक्ष मानव संसाधन, पर्यटन, कृषि र औद्योगिकीकरण हुने, महानगरीय योजना आयोग गठन गर्ने, महानगरलाई बेरोजगार मुक्त बनाउन प्रत्येक श्रमिकलाई दक्ष र व्यावसायिक बनाई रोजगारी दिने, बेरोजगार सहायता केन्द्र स्थापना गरी रोजगारीका लागि सूचना प्रवाह गर्न व्यवस्था मिलाउने, खाद्यान्न अभावमा जीवन जोखिममा पर्ने परिस्थितिको अन्त्य, कृषिलाई व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, आमसञ्चारलाई स्वच्छ, स्वास्थ्य, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यवसायीकरण बनाउने, सहकारीलाई उत्पादन र बजारसँग जोड्दै ‘मेड इन भरतपुर’ को अभियान चलाइने, वन्यजन्तुबाट मानव बस्तीमा हुने जनधनको क्षति हुन नदिन विशेष संरक्षण योजना बनाउने उल्लेख छ ।

सो अवसरमा मेयर पदकी उम्मेदवार रेणु दाहालले प्रतिबद्धता पत्र महत्त्वाकाङ्क्षी भए पनि पुरा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभयो । ‘अघिल्लो कार्यकालमा पनि कैंयौ विषयमा प्रतिबद्धता पत्र भन्दा बढी काम भएको छ । कतिपय ठूला योजना निर्माणाधीन छन्, उहाँले भन्नुभयो, ‘पालिकाको बजेटले त पुरा हुन सम्भव देखिँदैन । प्रदेश र केन्द्रका बजेट ल्याएर पनि पुरा गर्छौँ।’ आफूले भरतपुर महानगरलाई समृद्धि बनाउने अभियानमा ठूलो त्याग र अनुभव बटुलेको भन्दै उहाँले यी योजनाहरू सम्पन्न हुने विषयमा ढुक्क हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button