१५ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८७५ जनाको नमुना परीक्षण गरिएको थियो । चार हजार ८८२ जनाले पिसीआर र ९९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५९३ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख दुई हजार ५४३ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २४९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । होम आइसोलेसनमा २४५ र संस्थागत आइसोलेसनमा चार रहेका छन् ।
हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, भोजपुर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मकवानपुर, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ४३, ललितपुर १९ र भक्तपुरमा सात सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्