स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा घरदैलो अभियान सुरु
कञ्चनपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।
राजनीतिक दल र स्वतन्त्र रुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको भीमदत्त नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखका उम्मेदवार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेदवार कृष्णदत्त जोशीले पनि टोल टोलमा पुगेर भोट मागिरहेका छन्।
त्यसैगरी नेपाली काँग्रेसले भीमदत्त नगरपालिका–१ रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम शुभारम्भ गरेको काङ्ग्रेस भिमदत्त नगरसचिव राहुल भट्टले बताउनु भयो। उहाँले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताउनु भएको छ।
यहाँका अन्य स्थानीय तहमा पनि नेताहरूले घरदैलो अभियानमा जुटेका छन्। बेलौरी र पुर्नवास नगरपालिकामा पनि घरदैलो अभियान सुरु भइसकेको छ। एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले उम्मेदवारसहित आफूहरू घरदैलो अभियानमा खटिएको जानकारी दिए।
“पहिलोपटक बेलौरीमा हामीले महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ”, उनले भने, “घरदैलो अभियान पनि सुरु गरिसकेका छौँ।” पार्टीहरू विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा लाग्नुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ।
शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान थालेका छन्।
नौ वटै पालिकामा कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाको उम्मेदवारी परेको छ। भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्। दोधारा चाँदनी नगरपालिकामा आठ जनाले र बेदकोट नगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवारी परेको छ। कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। बेलौरी नगरपालिकामा ६ तथा पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्।
लालझाडी गाउँपालिकामा ६ तथा बेल्डाँडी गाउँपालिकामा ६ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ।








प्रतिक्रिया राख्नुहोस्