राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकलाई बर्खास्त गर्न खेलाडीको माग

काठमाडौँ । राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पबाट विद्रोह गरेका खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको बर्खास्तीलाई ‘बटमलाईन’ बनाएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको छलफलमा वर्तमान समस्या समाधानका लागि अलमुताइरीलाई बर्खास्त गर्नुपर्ने खेलाडीको माग छ ।
रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालेपछि सिनियर खेलाडीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए । प्रशिक्षणको क्रममा बस्ने/खानेको राम्रो प्रबन्ध हुनुपर्ने खेलाडीको मागलाई रोहितले प्रशिक्षक अलमुताईरी समक्ष राखेका थिए । सोही मागमा अलमुताईरीले चन्दलाई क्लोज क्याम्पमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए ।
चन्दलाई क्लोज क्याम्पबाट निकाल्ने निर्णयबारे सिनियर खेलाडीले अमलुताइरीसँग छलफल गर्न चाहेका थिए । तर अलमुताइरीले रोहितको विषयमा छलफल गर्न खोज्ने सबै सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्केर जान निर्देशन दिएका थिए । अलमुताइरीसँग पटक पटक संवाद गर्न खोज्दा अस्वीकार गरेपछि खेलाडीहरू रातको समयमा होटल छाडेर निस्किएका थिए ।
खेलाडी–प्रशिक्षकबीच विवाद समाधानका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीसँग छलफल गर्नुभएको छ । असन्तुष्ट खेलाडीले प्रशिक्षकको बर्खास्तीनै समस्या समाधानको विकल्प भएको बताएका छन् ।
यता, अलुमताइरीले भने क्याम्प छाडेर हिँडेका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने एन्फाका पदाधिकारीलाई बताएका छन् । सी र बी डिभिजन क्लबका जुनियर खेलाडीलाई उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्