राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

कास्की । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताउनुभएको छ ।
प्रतियोगिताको तयारीलगायतका बारेमा मन्त्रालयले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो ।
मन्त्री गहतराजले समय कम भए पनि प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सकिने अवस्था रहेकाले कुनै आशङ्का नराख्न आग्रह गर्दै भव्य तयारीमा जुट्न सरोकारवालालाई आग्रह गर्नुभएको थियो । “यही वर्ष र निर्धारित अवधिमा राष्ट्रिय खेलकुद सम्पन्न गर्न सक्छौँ, अब कहिले हुन्छ भन्ने अवस्था छैन, चाडपर्व, सङ्घ र प्रदेशको निर्वाचन, मौसमलगायतका कारणले पछि राष्ट्रिय खेलकुदलाई प्रभाव पार्ने भएकाले सरकार तोकिएको मितिमा प्रतियोगिता सम्पन्न गर्न लागेको छ” उहाँले दोहोर्याउनुभयो ।
प्रतियोगिताका ३६ खेलमध्ये सुटिङ र पौडीका पूर्वाधार पोखरामा नरहेकाले अन्यत्र लैजानुपर्ने बाध्यता रहेपनि अन्य सबै खेलका पूर्वाधार तयार रहेको मन्त्री गहतराजले बताउनुभयो । उहाँले प्रतियोगिताका लागि हरेक प्रदेशले आफ्नो टोली र विभागीय टोली सम्बन्धित विभागले तयार पार्नुपर्ने दायित्व भएकाले सोहीअनुसार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “प्रदेशको टिम सोही प्रदेशले बनाउने हो, सोका लागि आवश्यक नीतिगत, आर्थिक र प्राविधिक जनशक्तिको सहयोग केन्द्र सरकारले उपलब्ध गराउँछ ।”
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले देश खेलमय बनेको बताउँदै खेलाडी, खेल प्रशिक्षक र खेलकुद पदाधिकारी पोखरा र गण्डकीमा आउन आतुर रहेको बताउनुभयो । उहाँले सात प्रदेश, तीन विभागीय र एनआरएनको टोली गरी ११ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको जानकारी दिनुभयो ।
खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले ३९ वर्षपछि पोखराले राष्ट्रिय खेलकुद आयोजनाको अवसर प्राप्त गरेकाले मेगा इभेन्टलाई भव्य बनाउने गरी तयारीमा लाग्न यहाँका खेलकुद पदाधिकारी, खेल सङ्घ तथा समग्र पोखराका स्थानीयलाई आग्रह गर्नुभयो । प्रदेश र स्थानीय सरकारबाट समेत प्रतियोगिताका लागि थप स्रोत उपलब्ध भएको खण्डमा प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन मद्दत पुग्ने उहाँको धारणा थियो ।
नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले प्रतियोगितालाई सफल बनाउन पूर्वाधार महत्वपूर्ण रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । पोखरामा दुई वर्षअघि सम्पन्न १३औँ सागमा हक्कीको खेलमैदान नहुँदा खेल रद्द भएको बताउँदै पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
खेलाडी सुजन आचार्यले अघिल्ला संस्करणमा खेलाडीले आफ्नो खल्तीको पैसा खर्च गरेर प्रतियोगिता खेल्न जानुपर्ने सम्मको अवस्था रहेको सुनाउँदै खेलाडीलाई न्यूनतम सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्