तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीका १५ मध्ये १३ स्थानीय तहमा निवर्तमान प्रमुखद्वारा पुनः उम्मेदवारी

महोत्तरी । महोत्तरीका १५ स्थानीय तहमध्ये १३ वटा पालिकामा निवर्तमान प्रमुखले पुनः उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आइतबार र सोमबार महोत्तरीको १५ वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयहरूमा १३ पालिका प्रमुखहरूले दोहोर्‍याएर चुनावी प्रतिस्पर्धाका लागि मनोनयन पत्र दर्ता गराउनुभएको हो । बर्दिबास र गौशाला नगरपालिका बाहेक सबैमा स्थानीय तहमा निवर्तमान प्रमुखहरूले मनोनयन दर्ता गराउनुभयो ।

महोत्तरीका जलेश्वर नगरपालिकाका निवर्तमान रामशंकर मिश्र, मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट प्रमुख पदका लागि निवर्तमान प्रमुख हरिप्रसाद मण्डल, महोत्तरी गाउँपालिकामा निवर्तमान अध्यक्ष सुनिल यादवले सोमबार मनोनयन पत्र दर्ता गराउनुभयो ।

त्यस्तै मनरा सिस्वा नगरपालिकाका निवर्तमान प्रमुख सञ्जय सिंह, भंगहा नगरपालिकामा निवर्तमान प्रमुख सञ्जीव साह र एकडारा गाउँपालिकाको निवर्तमान अध्यक्ष राम छविलाल साह फेरि प्रतिस्पर्धामा उत्रनुभएको हो ।

यस्तै बलवा नगरपालिकामा निवर्तमान मेयर विनोद यादवले नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । औरही नगरपालिकाका निवर्तमान प्रमुख सुनिलकुमार यादव र लोहारपटि नगरपालिकाका निवर्तमान प्रमुख शैलेन्द्र कुमार यादवले पनि दोहोर्‍याएर प्रमुख पदको प्रतिस्पर्धाका लागि मनोनयन पत्र दर्ता गराउनुभयो ।

रामगोपालपुर नगरपालिकाका निवर्तमान प्रमुख अशोककुमार मण्डलले पनि सोही पदका लागि मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

यसैगरी सम्सी गाउँपालिकाका निवर्तमान प्रमुख शेख फारुखले पनि दोहोर्‍याएर सोही पदमा चुनावी प्रतिस्पर्धा गर्न मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

यसैगरी सोनमा गाउँपालिकाको निवर्तमान अध्यक्ष राजकुमार यादवले पनि दोहोर्‍याएर चुनावी मैदान उत्रन मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

बर्दिबास नगरपालिकामा राजु खड्का र गौशाला नगरपालिकामा नेकपा माओवादीबाट विष्णु लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button