अछामका २ नगर प्रमुखमा महिला उम्मेदवार
अछाम । अछामका २ नगरपालिकामा प्रमुखमा महिला उम्मेदवार भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन–२०७९ मा जिल्लाको साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा प्रमुखमा महिला उम्मेदवार भएका हुन् ।
नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेदवार बन्ने हुनुभएको छ । चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुनुहुन्छ ।
कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील हुनुहुन्छ । दुई पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको नामावली सार्वजनिक गरेसँगै दुई महिला मेयरमा उम्मेदवारी चर्चा चल्न थालेको छ । २०७४ सालमा साँफेबगरमा नेकपा एमालेका र पञ्चदेवल विनायकमा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख सहित बहुमत वडामा जीत हासिल गरेका थिए ।
यस्तै नेकपा (एमाले) अछामले चौरपाटी गाउँपालिकामा दलिततर्फबाट प्रतिनिधित्व हुने गरेर उम्मेदवारी दर्ता गरेको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिकामा एमाले जिल्ला सदस्य रामबहादुर आउजी अध्यक्षमा चुनाव लड्ने बताइएको छ । अन्य स्थानीय तहमा अधिकांशमा महिला उपप्रमुख र उपाध्यक्षमा चुनाव लडाउने राजनीतिक दलको तयारी छ ।
जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावमा जाने भएका छन् । गठबन्धन हुँदा कतिपय पालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषको मात्रै उम्मेदवारी पर्ने देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्