मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ ।
आज खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनः वितरण सुरु गर्नुभएको हो ।
आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महाङ्काल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ ।
सो अवसरमा मन्त्री चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताका आधारमा पानी ल्याएको बताउनुभयो । उहाँका अनुसार अझै पनि कतिपय संरचना सम्पन्न हुन बाँकी भएकामा तत्कालका लागि पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । गत वर्ष बाढी पहिराका कारण मुहानको माथिल्लो तटीय क्षेत्रमा पुगेको क्षतिका बारेमा दातृ निकाय एसियाली विकास बैङ्कले विस्तृत अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

सो अध्ययनको प्रतिवेदन आएपछि सबै निकायसँगको समन्वयमा मर्मत गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा याममा मेलम्चीमा क्षति पुग्ने भए पनि पूर्व सूचना दिने प्रणाली सुरु गरिएको छ ।” खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अहिले अस्थायी प्रक्रियाबाट पानी काठमाडौँ ल्याइएको बताउनुभयो ।
उपत्यकामा रहेका १० ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ । वर्षामा सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँदा बागमतीको पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले गत वर्ष नभएकामा यस वर्ष भक्तपुरमा पनि पानी वितरण गरिने बताउनुभयो । एक दुई दिन बिराएर उपभोक्ताका घरघरमा पानी वितरण हुने उहाँको भनाइ छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटाले निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताका घरघरमा पानी पुर्याउन आवश्यक संरचना निर्माण गरेको बताउनुभयो । आवश्यक संरचना निर्माण सकिएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गत वर्ष केही समय पानी वितरण गरिएको भए पनि बाढीका कारण वितरण ठप्प हुँदा नागरिक निराश भएको बताउनुभयो । उहाँका अनुसार अहिले पुनः पानी आउँदा नागरिकमा आशा पलाएको छ ।
लिमिटेडका बानेश्वर शाखा प्रमुख नारायण कर्णले शाखाले तालिका प्रकाशित गरेर आम उपभोक्तालाई पानी वितरणबारे जानकारी गराइरहेको बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्