वैज्ञानिकहरू भन्छन् : विश्व तापक्रम नियन्त्रण “अहिले नभए कहिल्यै”

काठमाडौँ । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा बढिरहेको र यसले मानव समुदायसँगै सिङ्गो विश्व नै सङ्कटमा पर्न सक्ने विभिन्न अध्ययन प्रतिवेदनहरूले औँल्याएका छन् ।
जलवायु परिवर्तन सम्बन्धी हालै सार्वजनिक भएको एक रिर्पोटले विश्व तापक्रम नियन्त्रण “अहिले नभए कहिल्यै” हुन नसक्ने तर्फ सङ्केत गरेको छ ।
हरितगृह ग्यास उत्सर्जनका सबै क्षेत्रको तत्काल कटौती नभए विश्व तापक्रम नियन्त्रण बाहिर जाने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
जलवायु परिवर्तनको बढ्दो जोखिम न्यूनीकरणको लागि विश्व तापमान १.५ डिग्री सेल्सियसमा सीमित राख्नु उपयुक्त बाटो देखाएका वैज्ञानिकहरूले हालै सार्वजनिक जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घको अन्तर सरकारी समूह (आइ.पी.सी.सी) रिर्पोटमा कार्य समूहकी सह अध्यक्ष जिम स्कियाले तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने सन्दर्भमा “ इट्स नाउ अर नेभर ” अर्थात् यो अहिल्यै नगरे कहिल्यै नहुने” भनी स्पष्ट गर्नुभएको छ । रिर्पोटले २०३० सम्ममा उत्सर्जनलाई रोकिएन भने यसपछि विश्व तापक्रम वृद्धिलाई रोक्न असम्भव जस्तै हुने बताएको छ ।
जलवायु परिवर्तन सम्बन्धी हालसम्मकै आधिकारिक धारणा मानिएको आइपीसिसि समूहमा विश्वका १ सय ९५ राष्ट्र सदस्य रहेका छन् भने हजारौँ बढी वैज्ञानिक, अनुसन्धानकर्ताहरू सम्मिलित छन् ।
पछिल्लो रिर्पोट सार्वजनिक गदै आइपीसीसिका अध्यक्ष होसुङ लिले अहिले विश्व जगत् चौबाटोमा उभिएको र यही समयमा नै सही निर्णय लिन सके मात्रै जलवायु परिवर्तनको जोखिमबाट भविष्यलाई सुरक्षित गर्न सकिने बताउनुभएको छ ।
वैज्ञानिकहरूले सुझाएको बाटो : जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न हाल भन्दा ३ देखी ६ गुणा बढीसम्म आर्थिक लगानीको आवश्यकतालाई औँल्याइएको छ । जसलाई वैज्ञानिकहरूले लगानीमा फराकिलो दुरी रहेको भनेका छन् ।
कार्वनडाईअक्साइड उत्सर्जन शून्य गर्न सकेमा तापक्रमलाई स्थिर राख्न सकिने अर्को उपाय हो ।
आइपीसीसी कार्य समूहकी एक सह अध्यक्ष वैज्ञानिक डियनाका अनुसार सन २०३० सम्ममा उत्सर्जनलाई आधा गर्न हरेक क्षेत्रहरूमा उपाय रहेका छन् ।
उहाँले विज्ञान प्रविधिमा अन्वेषण, कृषि, बन र खाद्य सन्तुलन, वैकल्पिक ऊर्जाको प्रयोग, उचित भू उपयोग, उद्योग कलकारखाना, शहर तथा यातायातका क्षेत्रमा जलवायुमैत्री क्रियाकलाप गर्न सुझाव दिनुभएको छ । मानवीय क्रियाकलाप जलवायुमैत्री बनाए मात्र सन् २०५० सम्ममा ४० देखी ७० प्रतिशत सम्म उत्सर्जन घटाउन सकिने प्रक्षेपण गरिएको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि एक देश, एक सरकार, एक क्षेत्र, एक विज्ञानले मात्र नभई एक व्यक्तिले व्यक्तिगत रुपमा विभिन्न कार्य गर्न सक्ने रिर्पोटले भनेको छ ।
साइकल तथा पैदल यात्रा, हवाई यात्रामा कटौती, शाकाहारी खाना खाने जस्ता जीवनशैली अपनाए मात्र पनि जलवायु परिवर्तनको सङ्कटलाई न्यूनीकरण गर्न एक व्यक्तिको ठूलो योगदान हुने वैज्ञानिकहरूले सुझाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्